रोमान्टिक भावमा गीतकार चन्द्र गिरी

-तुलसी गिरी ‘भावुक’

गीतकार तथा वातावरण क्षेत्रका विश्व प्रसिद्ध अमेरिकी वैज्ञानिक डा. चन्द्र गिरीको शव्दरचनामा रहेको रोमान्टिक भावको गीत ‘आऊ तिमी अङ्गालोमा’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ एकदिन अघि गीतकार गिरीकै अफिसियल युट्युब च्यानल Rupantara Music बाट डिजिटल बजारमा आएको हो l

अर्जुन पोखरेलको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतमा सुरेश लामा र रचना रिमालले स्वर दिएका छन् l प्रसिद्ध निर्देशक गम्भीर विष्टको कोरियोग्राफी एवं निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा दिनेश पराजुलीको सिनेम्याटोग्राफी र नवीन निरौलाको सम्पादन रहेको छ l भिडिओमा स्वयम् निर्देशक गम्भीर विष्ट र अनिषा ओलीले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् भने गीतकार डा. चन्द्र गिरी, तेजश्वी गिरी, विनिता राई र साजन पाख्रिनलाई पनि अतिथि कलाकारको रुपमा देख्न सकिन्छ l गीतमा एकैपल पनि एक अर्काबाट टाढा रहन नसक्ने प्रेमी जोडीका रोमान्टिक भावहरु व्यक्त भएका छन् l निर्देशक विष्टले भिडिओमा अतिथि कलाकारको माध्यमबाट प्रेमको सन्देशमूलक उपकथा समेत कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् l

गीत रचना सँगसँगै नियात्रा, कथा, कविता लगायत साहित्यका अन्य विधामा समेत निरन्तर कलम चलाईरहेका डा. चन्द्र गिरीको आत्मकथा ‘मैले नदेखेको सपना’ हालै मात्र प्रकाशन भएको छ l भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यस पुस्तकमा पूर्बी पहाडी जिल्ला खोटाङको विकट गाउँ पाथेकामा जन्मिएको एउटा केटो विषम परिस्थितिका बाबजुद पनि कसरी झापा, बैंकक, क्यानडा र अमेरिका हुँदै विश्वप्रख्यात वैज्ञानिक बन्न सफल भने भन्ने रोचक र प्रेरणादायी कथा लेखिएको छ l डा. गिरीका हालसम्म लगभग २ दर्जन गीत रेकर्ड भैसकेका छन् भने १ दर्जनजति म्युजिक भिडिओ समेत बजारमा आएका छन् l