१३ औं र १४ औं डी. सिने अवार्ड एकैपटक सम्पन्न


डी.सिने अवार्डको १३ औं र १४ औं संस्करण सम्पन्न भएको छ । सोमबार राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा दुई वर्षको अवार्ड एकैपटक प्रदान गरिएको हो । कोभिड १९ का कारण उक्त वर्षहरु अवार्ड कार्यक्रम आयोजना गर्न नसकिए पनि उत्कृष्ट चलचित्र निर्माणका लागि चलचित्रकर्मीहरुलाई निरन्तर प्रोत्साहित गर्नु पर्छ भन्ने मान्यता अनुरुप यसलाई निरन्तरता दिइएको अवार्डका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।

चलचित्रकर्मीहरुको बाक्लो उपस्थितिका बिच सम्पन्न सो अवार्ड समारोहमा कलाकारद्वय अर्जुन श्रेष्ठ र दिपाश्री निरौलालाई छायाछवि रजत सम्मान र चलचित्र पत्रकार कुबेर गिरीलाई छायाछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
समारोहमा १३ औं संस्करण अन्तर्गत २०७७ मा प्रदर्शनमा आएका सातवटा चलचित्रबाट बिभिन्न पाँच बिधामा अवार्ड प्रदान गरिएको थियो ।

डी.सिने अवार्ड २०७७ अन्तर्गत सर्वोत्कृष्ट चलचित्रको अवार्ड चलचित्र श्रीबाट सूर्य बाहोराले प्राप्त गरेका छन् भने सर्वोत्कृष्ट अभिनेताको अवार्ड ‘हिरो रिटन्स’बाट सविन श्रेष्ठ, सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड ‘लक्ष्मी पूजा’बाट जाहन्वी बस्नेत, नृत्य निर्देशकको अवार्ड चलचित्र ‘गुड फ्रेण्ड’बाट अजय स्याङताङ र सह अभिनेताको अवार्ड ‘हिरो रिटन्स’बाट रोशन श्रेष्ठले प्राप्त गरेका छन् । समारोहमा कोभिड १९ को विषम परिस्थितिमा पनि चलचित्र प्रदर्शन गरेर चलचित्र क्षेत्रलाई चलायमान गराएको भन्दै उक्त वर्ष प्रदर्शनमा आएका ७ वटै चलचित्रलाई कदरपत्र समेत प्रदान गरिएको छ ।

यस्तै १४ औं संस्करणको डी.सिने अवार्ड २०७८ अन्तर्गत १३ विधामा अवार्ड प्रदान गरिएको छ । यसवर्षको अवार्डमा चलचित्र ‘म यस्तो गीत गाउँछु’ले उत्कृष्ट चलचित्र सहित छ बिधामा अवार्ड प्राप्त गरेको छ । उत्कृष्ट चलचित्र सहित यसै चलचित्रबाट सुदर्शन थापाले उत्कृष्ट निर्देशक, पल शाहले उत्कृष्ट अभिनेता, पूजा शर्माले उत्कृष्ट अभिनेत्री, बनिष शाह र मिलन श्रेष्ठले उत्कृष्ट सम्पादक र अर्जुन पोखरेलले उत्कृष्ट सङ्गीतकारको अवार्ड प्राप्त गरेका छन् ।

यस्तै चलचित्र ‘चिसो एष्ट्रे’बाट दीन्स पाल्पालीले उत्कृष्ट लेखक, चलचित्र ‘हेल्लो जीन्दगी’बाट सम्राट बस्नेतले उत्कृष्ट द्वन्द्व निर्देशक, चलचित्र ‘आकाशे खेती’बाट रामजी लामिछानेले उत्कृष्ट नृत्य निर्देशक, चलचित्र ‘लप्पन छप्पन २’ बाट पुरुषोत्तम प्रधानले सर्वोत्कृष्ट छायाकार, चलचित्र ‘हेल्लो जीन्दगी’बाट राजनराज शिवाकोटीले उत्कृष्ट गायक र चलचित्र ‘हेल्लो’बाटै निर्देशक सूर्य बोहराले जुरी अवार्ड प्राप्त गरेका छन् ।

समारोहमा कलाका बिभिन्न माध्यमबाट नेपाली चलचित्र, गीत-सङ्गीत, कला तथा साहित्यका क्षेत्रमा योगदान पुर्याएका कलासाधकहरुलाई पनि छायाछवि सम्मान प्रदान गरिएको छ । कार्यक्रममा अभिनेता तथा मोडल दिनेश के.सी., चलचित्र निर्देशक चेतनाथ दंगाल, चलचित्र निर्देशक समुन्द्र भट्ट, अभिनेत्री सानिया खान, प्राविधिक प्रकाश मिश्र, मोडल रुपा राना, निर्माता तथा निर्देशक सन्तोष सुवेदी, गायिका मञ्जु थापा र गीतकार किरण केसी क्रोधीलाई छायाछवि सम्मान अर्पण गरिएको हो ।

वरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेती, अभिनेत्री तथा लेखिका सोभिता सिम्खडा र सङ्गीतकार सन्तोष श्रेष्ठ निर्णायक रहेको सो अवार्डको चलचित्र छनोट समिति निर्णायकका रुपमा निर्देशक तथा सम्पादक सुरेन्द्र पौडेल, मोडल मञ्जिता केसी, गायक तथा सङ्गीतकार ओम सुनार, सम्पादक तथा कलरिष्ट जीवन थापा, मोडल सुदिप श्रेष्ठ र गायक तथा सङ्गीतकार राज सागर रहेका थिए । निर्णय प्रक्रियालाई थप चुस्त बनाउन यसपटकदेखि चलचित्र छनोट निर्णायक समिति समेत गठन गरिएको निर्देशक माधबराज खरेलले जानकारी दिएका छन् ।