रोशाको स्वरमा आमाको महिमा

-तुलसी गिरी ‘भावुक’

प्रथम सारेगमप लिटिल च्याम्स नेपाल, रियालिटी शो की उपविजेता रोशा फुयालको स्वरमा रहेको गीत ‘आमा मेरी प्यारी आमा’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ केहीदिन अघि Shishir Bhandari नामक युट्युब च्यानलबाट विश्वव्यापी रुपमा डिजिटल बजारमा आएको हो l डिल्ली फुयालको शब्दरचना, शिशिर भण्डारीको सङ्गीत र पुष्कर सुनुवारको सङ्गीत संयोजन रहेको यस गीतको मिक्सिङ/माष्टरिङ नरेश बीबीसीले गरेका हुन् l

सन्तोष राजवाहकद्वारा निर्देशित यस गीतको भिडिओमा वरिष्ठ अभिनेत्री गौरी मल्ल, नूर दाहाल, असिम भण्डारी, सुवास दाहाल र लिपिका दाहालले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् भने ज्ञानेन्द्र शर्मा हुमागाईंको सिनेम्याटोग्राफी र दिन्शन शाहको सम्पादन रहेको छ l मानवीयताको गहिरो सन्देश बोकेर आएको कथात्मक शैलीको यस म्युजिक भिडिओले आमाको त्याग र निस्वार्थ मायाको महिमा यथार्थपरक कथावस्तुमा प्रस्तुत गरेको छ l

लिटिल च्याम्समा छनोट हुनु अघि नै सामाजिक सञ्जालमा अपलोड गरिएको भिडिओ हेरेर अमेरिकाका प्रसिद्ध वातावरण क्षेत्रका वैज्ञानिक डा. चन्द्र गिरीले रोशालाई गीत गाउन अफर गरेका थिए l तथापि सो गीत रेकर्ड हुनु अघि नै उनी लिटिल च्याम्सका लागि छनोट भएपछि आयोजकले बाहिरी गतिविधिमा बन्देज लगाए l प्रतिस्पर्धामा उपविजेता भएपछि लगभग १ वर्ष पछि उनले सो गीत रेकर्ड गरेकी थिईन् l अहिलेसम्म रोशाको स्वरमा २४ वटा गीत रेकर्ड भईसकेका छन् भने सबैजसो गीतका भिडिओ समेत आईसकेका छन् l    

पूर्वी नेपालको मेचीनगर, झापाकी गायिका रोशा फुयाल र उनका दाजु रोशन फुयाल अहिले पनि सामाजिक सञ्जालको प्रस्तुतिलाई निरन्तरता दिईरहेका छन् l दाजु रोशनले रोशालाई तबला बजाएर साथ दिँदै आएका छन् l गायनका शोखिन रोशन भविष्यमा एक कुशल वाद्यवादक बन्न चाहन्छन् l यतिबेला उनी सङ्गीत लिएर ललितकलामा स्नातक गरिरहेका छन् भने सांस्कृतिक संस्थानमा मादल पनि सिकिरहेका छन् l दाजु बहिनीको एकपछि अर्को सफलताको कथा पछाडि बुबा गोपीनाथ फुयाल र आमा कला बाँसकोटा फुयालको सपना, त्याग र मेहेनतको ठूलो योगदान रहेको छ l

झापामा छँदा बिर्तामोडस्थित सनलाइट सङ्गीत विद्यालयका प्रसिद्ध गुरु कृष्ण योञ्जन र सप्तक सङ्गीत विद्यालयका गुरु सरोज बत्ससँग शास्त्रीय सङ्गीतको प्रशिक्षण लिएकी रोशा हाल राजधानीमै ध्रुपद सङ्गीत विद्यालयका गुरु श्री के. सी. सँग सङ्गीत सिकिरहेकी छिन् l हँसिलो अनुहार लाएर गीत गाउने उनको शैलीलाई लिटिल च्याम्सका दर्शकहरुले निकै मन पराएका थिए l नेपाली सङ्गीत क्षेत्रमा एक होनहार गायिकाको रुपमा उदाउँदै गरेकी गायिका रोशा यतिबेला एसईईको रिजल्ट कुरिरहेकी छिन् l सङ्गीत लिएरै कलेज पढ्ने उनको योजना रहेको छ l