सपुतमाथि बियरको क्यान प्रहार गर्ने व्यक्ति अध्यागमन हिरासतमा


गायक प्रकाश सपुतमाथि बियरको क्यान प्रहार गर्ने नेपाली व्यक्तिलाई कानूनी कार्वाहीका लागि रोमानियाको अध्यागमन कार्यालयमा बुझाइएको छ ।

आयोजक संस्थाका नरेश गिरीका अनुसार ती व्यक्तिलाई अहिले रोमानियाको अध्यागमन हिरासतमा राखिएको छ । नेपाली समयानुसार सोमबार राती भएको उक्त घटना लगत्तै आयोजकले ती व्यक्तिलाई नियन्त्रणमा लिएर अध्यागमनलाई बुझाएका थिए ।

अध्यागमनले अब उनलाई अदालतमा पेश गर्ने जानकारी गिरीले दिए । ‘अब उनीबारे अदालतले निर्णय गर्नेछ’ गिरीले भने । ‘याद नेपाली म्युजिक फेस्टिभल भाग २’ नाम दिइएको उक्त कन्सर्टमा गायक सपुतले आफ्नो चर्चित गीत ‘बोल माया’ गाउँदै थिए ।

मादक पदार्थ सेवन गरेको भनिएका ती व्यक्तिले बियरको क्यानले प्रहार गर्दा गायक सपुतको अनुहारमा चोट लागेको थियो । ती व्यक्तिको नाम भने खुलाइएको छैन । उक्त समारोहमा ४०० को संख्यामा नेपालीको सहभागिता रहेको जनाइएको छ । कन्सर्टमा सहभागि हुन नेपालबाट गायक सपुत र प्रीति आले रोमानिया पुगेका थिए ।