शंकर बिसीले डान्स एकेडेमी सञ्चालनमा ल्याए, नयाँ प्रशिक्षार्थीहरुलाई विशेष छुट

-प्रकाश बराईली ‘अभिव्यक्ति’

लोकप्रिय मोडल तथा निर्देशक अर्थात लोक दोहोरीका महानायक भनेर चिनिने शंकर बिसीले काठमाडौंको महाराजगञ्जमा शंकर बिसी डान्स एकेडेमी सञ्चालनमा ल्याएका छन् । बिगत लामो समयदेखि नृत्यको क्षेत्रमा उच्च ख्याती कमाएका बिसीले नेपाली साङ्गीतिक क्षेत्रमा थप टेवा पुराउने उद्देश्यले काठमाडौं-३, महाराजगन्ज चोकमा डान्स एकेडेमी सञ्चालनमा ल्याएका हुन् ।

बरिष्ठ कलाकार मिथिला शर्माद्वारा डान्स एकेडेमीको उद्घाटन गरिएको थियो । उद्घाटनमा नेपाली गीत सङ्गीत क्षेत्रका चर्चित मोडल तथा डान्सरहरुको उपस्थिति रहेको थियो । सो अवसरमा लोकप्रिय मोडल तथा डान्सरहरु महेन्द्र गौतम र कृष्ण रसाईलीले पनि शुभकामना दिएका थिए ।

शंकर बिसीले विगत लामो समयदेखि डान्स सिकाउँदै आएका छन् । बिचमा कोरोना महामारी र लकडाउनले गर्दा प्रभावित भयो । लकडाउनका कारण उनले सञ्चालनमा ल्याएको डान्स एकेडेमी बन्द भएको थियो । अब स्थायी रुपले एकेडमी चलाउने सोच रहेको कुरा उनले बताए ।

शंकर बिसी डान्स एकेडेमीमा बिभिन्न प्रकारका मौलिक नृत्य सहित अन्य प्रकारका नृत्यहरु सिक्न पाईन्छ । शंकर बिसी भन्छन् -‘लगातार नृत्य सिकेपछि नाच्नै नजान्ने ब्यक्तिलाई पनि नाच्न सक्ने बनाउँछु ।’

अन्य कलाकारहरुले पारिश्रमिक बढाएर महंगो बनाएर साङ्गीतिक क्षेत्रलाई डुबाउन खोजेको गुनासो गर्दै आगामी दिनमा अरुले जे जस्तो गरेतापनि आफूले पारिश्रमिक नबढाउने र सबैले भिडिओ बनाउन सक्ने स्थिती श्रृजना गर्दै यो क्षेत्रलाई पनि टिकाउने सोच रहेको कुरा बिसीले बताए ।

शंकर बिसी डान्स एकेडेमीमा असार १० गते आईतबारदेखि बिहानी, दिवा र रात्रीकालिन कक्षा सञ्चालन हुने कुरा शंकर बिसीले बताए । साथै सञ्चालन भएको केही महिनासम्म बिशेष छुटको ब्यवस्था भएको कुरा पनि उनले बताएका छन् ।