सङ्गीतकार मास्केको १२ औं एकल एल्बम सार्वजनिक


सङ्गीतको व्यावसाय डिजिटल बन्दै गएपछि गीतका एल्बम निकाल्ने प्रचलन पनि निकै नै कम भएको छ । तथापि बेला बखत यस्ता गीतसङ्ग्रह प्रकाशन हुने क्रमले निरन्तरता भने पाईरहेका छन् l यसै सन्दर्भमा वरिष्ठ सङ्गीतकार सुनिल मास्केले आफ्नो एकल सङ्गीतको १२ औं एल्बम ‘अनुभव’ सार्वजनिक गरेका छन् । हालै काठमाडौँमा आयोजित एक औपचारिक कार्यक्रममा उनको सो एल्बम लोकार्पण गरिएको हो ।

५ वटा गीत समाबेश यस एल्बममा उदय सोताङ र मनिला सोताङको स्वर रहेको छ । एल्बममा समावेश ‘कति कुरा मिठा बातमा हुन्छ’ बोलको गीतमा अर्जुनरत्न भिखारीको शब्द र प्रदीप श्रेष्ठको सङ्गीत संयोजन रहेको छ भने ‘हात समाई मिठा बात गरेको’ गीतमा नुतन भुसालको शब्द र संजीव बराइलीको सङ्गीत  संयोजन छ । यसैगरी ‘तिम्रो माया जीवनको खेल हो कि’ योगेन्द्रमणि दाहालको शब्द र प्रदीप श्रेष्ठको संगीत संयोजन, ‘कता गयो त्यो बैंश’ तुलसी बस्नेतको शब्द र रिदम कंडेलको सङ्गीत संयोजन, ‘तिमीसँगै जिन्दगानी बिताउन पाउँ’ सुनिता बस्नेत थापाको शब्द र सचिन सिंहको सङ्गीत संयोजनमा रहेका गीत हुन् । सबै गीतका रेकर्डिस्ट राजेश श्रेष्ठ हुन् भने किशोर थापाले मिक्सिङ र मास्टरिङ गरेका छन् । कार्यक्रममा युवराज वाइबा निर्देशित एल्बममा समाबेश दुईवटा गीतको भिडिओ समेत प्रदर्शन गरिएको थियो ।