‘अनौठो माया’ उपन्यासको विषयमा अन्तरक्रिया, अडियो भर्सन समेत सार्वजनिक  


उपन्यास समाज नेपालको आयोजना विश्व कीर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा लिखित ‘अनौठो माया’ उपन्यासको राजधानीमा आयोजित एक समारोहबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सभापति उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीले चार दशकदेखि साहित्य एवं कला क्षेत्रमा लागेर महत्त्वपूर्ण योगदान दिएकोमा उपन्यासका लेखक सुरेन्द्र महर्जन ‘अमर’ को प्रशंसा गरेका थिए ।  

अन्तरक्रिया कार्यक्रममा उपस्थित अतिथिहरुले धेरै भन्दा धेरै पुस्तक एवं साङ्गीतिक कृति प्रकाशित गरेर साहित्यमा ठूलो योगदान दिने सुरेन्द्र महर्जन ‘अमर’ को खुलेर तारिफ गरेका थिए l ‘अनौठो माया’ उपन्यासभित्र समस्यासँगै समाधान पनि भएको बताउँदै कार्यक्रमकी अतिथि पत्रकार गीता अधिकारीले भनिन् -‘अहिलेको कृत्रिम जमानामा मान्छेले एक अर्कालाई गर्ने प्रेमप्रति विश्वास गर्ने कि नगर्ने ? प्रश्न गर्न लायक कुरा र समाधान उपन्यासमा पाइन्छ l’

कार्यक्रममा पत्रकार चक्रप्रसाद पोखरेलले साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ले आफ्नो ३२ औं कृति प्रकाशित गरेर साहित्यको निमित्त धेरै ठूलो योगदान दिएको धारणा राखेका थिए । ओएस नेपालको तर्फबाट विवेक कार्कीले उपन्यासको विषयमा आफ्नो विचार राख्दै ‘अमर’ ले साहित्य मात्रै नभएर गीत, सङ्गीत क्षेत्रमा समेत अमूल्य योगदान दिएकोमा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा चर्चित एवं विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले धेरै पृष्ठको उपन्यास भन्दा सरल र यथार्थपरक कथा समावेश गरेर पाठक माझ पुर्‍याउने साहित्यकार भन्दै ‘अमर’को प्रशंसा गरेका थिए । यसैगरी सङ्गीतकार एवं गायक सूर्यकमल राईले अरु उपन्यास भन्दा फरक शैलीमा सरल तरिकाबाट कथा समेटिएकोले उपन्यासले सबैको मन जित्ने बताए ।  अन्तरक्रिया कार्यक्रमपछि शंकर भारतीबाट उपन्यासको अडियो भर्सन सार्वजनिक गरिएको थियो । पुस्तक प्राप्त नभएको खण्डमा पनि अडियोबाट उपन्यासको मजा लिन सकिने कुरा उपन्यासका लेखक सुरेन्द्र महर्जन ‘अमर’ ले बताए । उपन्यासको अडियो भर्सनमा कृष्णराज अधिकारीको आवाज रहेको कुरा थाहा भएको छ ।