‘र्याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार–२ मा हुने


र्याप गीतमा आधारित रियालिटी सो ‘र्याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार–२ मा हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था ग्रीन मन्की फिल्मस् प्रा.लि.ले यस्तो जानकारी गराएको हो ।

हिपहप र ‘र्याप गीत-सङ्गीतको प्रबर्धन र प्रमोशन गर्न यो रियालिटी शोको आयोजना गरिएको निर्देशक आदित्यविक्रम अछामीले बताए । ‘हामीले हिपहप र ‘र्याप गीत-सङ्गीतको प्रबर्धन र प्रमोशन गर्न यो रियालिटी शोको आयोजना गरेका छौं । पहिलो शो बाटै हामी धेरै उत्साहित भएका छौं’, निर्देशक अछामीले भने ।

अन्तिम प्रतिस्पर्धामा अनुप उप्रेती (अनुप्रास), अरुण शाही, आयुस राई (यमप्वाइन्ट), विवेक घोरासैनी (बिजी), साजन लामा (निम्बुजोडा) र सफल विष्ट (बिसेफ) पुगेका छन् । उनीहरूमध्ये असार–२ गते हुने अन्तिम प्रतिस्पर्धामा एकजना विजेता छानिने प्रतियोगिताका कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेतीले जानकारी गराए ।

यो प्रतियोगिता नयाँ पुस्तामाझ लोकप्रिय रहेकाले आयोजक टोली उत्साहित हुँदै यस कार्यक्रमको सिजन–२ छिट्टै आउने ग्रीन मन्की फिल्मस् प्रा.लि.का सिइओ सुरेश कुसवारले जानकारी दिए । यो कार्यक्रमले नयाँ प्रतिभालाई प्लेटफर्म दिँदा नयाँ–नयाँ प्रतिभाले पनि अवसर पाएको कार्यक्रमका क्रिएटिभ प्रमुख अबिरल विष्टको भनाइ थियो । कार्यक्रमका अर्का निर्माता विनोद पोख्रेलका अनुसार यो प्रतियोगितमा भोटिङको आधारमा विजेताको छनोट  गरिने छ ।

प्रतियोगितको भोटिङ पार्टनरमा ओएसआर डिजिटल, टिकट पार्टनरमा माइपे र फोटोग्राफी पार्टनरमा फोटो फेशन स्टुडियो रहेका छन् । करिब चार महिना चलेको यो कार्यक्रमलाई बिबी एयरबेजले मुख्य प्रायोजन गरेको छ भने स्पेश फोरके टिभीमा नियमित प्रसारण हुँदै आएको छ ।

यो प्रतियोगितालाई ओएसआर रियालिटीबाट डिजिटल प्लेटफर्ममा  देख्न सकिन्छ । प्रतियोगितको निर्णायकमा गिरिश खतिवडा, मिस्टर डी (सन्दीप विष्ट), एजे (अभिजीत भण्डारे) रहेका छन् ।