विशिष्ट गीतकार किरण खरेल नगद रू. १ लाख सहित सम्मानित

-तुलसी गिरी ‘भावुक’

विशिष्ट गीतकार किरण खरेल ‘प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय सङ्गीत सम्मान’ बाट सम्मानित भएका छन् l प्रेमध्वज प्रधानको ८७ औं जन्म जयन्तिको अवसरमा ‘गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ द्वारा आज आयोजित समारोहमा गीतकार खरेललाई नगद रू. १ लाख सहित सम्मान गरिएको हो l यसैगरी समारोहमा नगद रू. ७५ हजार सहित सम्मानित सितारवादक उस्ताद तारावीर सिंह तुलाधरलाई ‘प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय वाद्यवादन सम्मान’ अर्पण गरिएको थियो भने युवा पिँढीकी लोकप्रिय गायिका मिलन नेवार नगद रू. ५० हजार सहित ‘प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय युवा सङ्गीत पुरस्कार’ बाट पुरस्कृत भईन् l

प्रतिष्ठानले पहिलोपटक आयोजना गरेको सो सम्मान तथा पुरस्कार वितरण कार्यक्रम कुपण्डोल स्थित होटल हिमालयमा आयोजना भएको थियो भने प्रतिष्ठानकी संस्थापक अध्यक्ष श्रीमती किरण प्रधानको सभापतित्व एवं विशिष्ट साहित्यकार/लोकवार्ताविद् तुलसी दिवसको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो l गीत-सङ्गीत एवं साहित्यिक क्षेत्रका विशिष्ट व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको सो समारोहमा अग्रज गीतकार राजेन्द्र थापाले प्रेमध्वज प्रधानसँगका रोचक संस्मरणहरु सुनाएका थिए भने विशिष्ट गीतकार दिनेश अधिकारीले सम्मानित सर्जक किरण खरेलको साहित्यिक व्यक्तित्वको बारेमा प्रकाश पारेका थिए l नरेश भट्टराईले सहजिकरण गरेको सो समारोहमा आनन्द कार्की, मिलन नेवार, सुरज कुमार थापा र उदेश श्रेष्ठले लाइभ बाजाका साथमा स्वर्गीय प्रेमध्वज प्रधानका कालजयी गीत गाएर  सम्मान प्रकट गरेका थिए l आगामी वर्षहरुमा सम्मान तथा पुरस्कारका विधा थप गर्दै लगिने कुरा समेत समारोहमा जानकारी गराईएको थियो l