गोरखा सांस्कृतिक समाजमा लामिछानेको नेतृत्व, गायक अर्याल र अभिनेत्री भट्ट सम्मानित  


गोरखा सांस्कृतिक समाजको सातौं वार्षिक साधारणसभा एवं चौथो अधिवेशनको अवसर पारेर समाजले लोकप्रिय गायक रामचन्द्र अर्याललाई मेलवादेवी सङ्गीत सम्मान प्रदान गरेको छ भने अभिनेत्री रश्मी भट्टलाई शान्ति मास्के कला सम्मान प्रदान गरेको छ । नेपालको पहिलो गायिका मेलवादेवी गुरुङ र वरिष्ठ अभिनेत्री, नाटककार शान्ति मास्केको नाममा स्थापित सम्मानबाट समाजले गायक अर्याल र अभिनेत्री भट्टराईलाई नगद राशि रू. ५ हजार ५ सय ५५ सहित सम्मान गरेको हो । प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको हातबाट उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मान पछि बोल्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखाको संस्कृति बचाउनका लागि कलाकारले गरेको कार्य उत्कृष्ट भएको भन्दै समाज रुपान्तरणमा कलाकारहरुको मुख्य भूमिका रहेको बताए । उनले कलासंस्कृतिको माध्यमबाट भाषा साहित्यलाई विश्वसामु पुर्याउन समाजमा स्थापित हुन पनि महत्वपूर्ण भूमिका खेलेको बताउँदै गोरखालीहरुको विकासको क्रमलाई अझै स्तरोन्नति गर्न सरकार दृढ रहेको विश्वास व्यक्त गरे । गायिका मेलवादेवी गुरुङको घर गोरखाको सौरपानी भएको र अभिनेत्री शान्ति मास्केको घर गोरखाको आँपपिपल भएको हुँदा उहाँहरुको स्मृतिमा यो सम्मानको नाम राखी गोरखा सांस्कृतिक समाजले निरन्तर कलाकारहरुलाई सम्मान गर्ने भएको छ ।

त्यसैगरी गोरखा सांस्कृतिक समाज पत्रकारिता सम्मानबाट नगद राशी रू. ५ हजार ५ सय ५५ सहित पत्रकार राजेन्द्र बानियाँ सम्मानित भए । हिमालय टेलिभिजनका प्रधान सम्पादक एवं यक्ष प्रश्नका चर्चित प्रस्तोता समेत रहेका बानियाँलाई समाजले सम्मान गरेको हो । त्यस्तै चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’लाई गोरखा सांस्कृतिक समाज युवा प्रतिभा सम्मानबाट सम्मानित गरिएको छ भने गजलकार प्रदीप रोदनलाई गोरखा सांस्कृतिक समाज साहित्य सम्मान प्रदान गरियो । उहाँलाई नगद राशि रू. ५ हजार ५ सय ५५ सहित सम्मान गरिएको हो ।

समाजका अध्यक्ष सुमन बैरागीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा गोरखा सांस्कृतिक समाजको तर्फबाट वर्षभरिको उत्कृष्ट सदस्यको रुपमा गायिका बेलिमाया पुलामी र गायक सचिन भट्टराईलाई सम्मान गरियो । त्यस्तै समाजको देउसीभैलो कार्यक्रममा संयोजकको भूमिका निर्वाह गरी कार्यक्रम सफल बनाउने समाजका सदस्य कार्यक्रम संयोजक दीप गुरुङलाई सम्मान गरिएको थियो । त्यस्तै आजीवन सदस्यहरु गायिका हरिमाया गुरुङ, गीतकार विश्व देवकोटा, गीतकार ध्रुवप्रसाद अम्गाईं र  गायक विक्रान्त पोखरेललाई पनि आजीवन सदस्यताको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।


सुनिल लामिछानेको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति

गोरखा सांस्कृतिक समाजको आठौं साधारणसभा एवं चौथो अधिवेशनबाट सुनिल लामिछानेको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । गीतकार सुमन बैरागीको नेतृत्वमा रहेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पद सम्हाल्दै आएका लामिछाने चौंथो अधिवेशनबाट निर्विरोध अध्यक्ष बनेका हुन् । गोरखा जिल्लाबाट काठमाडौंलाई कर्मथलो बनाएका कलासंस्कृतिसँग आबद्ध सदस्यहरुको सामाजिक संस्था हो  गोरखा सांस्कृतिक समाज । संस्थापक अध्यक्ष दीपसागर थापा, दोस्रा अध्यक्ष वीरबल ढकाल, तेस्रो अध्यक्ष सुमन बैरागी हुँदै चौथो अध्यक्षका रुपमा लामिछाने चयन भएका हुन् ।

समाजको चौथो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा गायक प्रेम अर्याल, प्रथम उपाध्यक्षमा लबकुमार भट्ट, द्वितीय उपाध्यक्षमा रविन लामिछाने, तृतीय उपाध्यक्षमा हरिराम परियार, महिला उपाध्यक्षमा चिजा तामाङ चयन भएका छन् भने अन्य तीन उपाध्यक्षमा वीरबल घले, मीरा गोर्खाली, सुमन परियार रहेका छन् । त्यसैगरी महासचिवमा रञ्जित परियार, उपमहासचिवमा टेकबहादुर गुरुङ, महिला सचिवमा बेलिमाया पुलामी, प्रशासनिक सचिवमा दीप गुरुङ, साङ्गठनिक सचिवमा सुबास अस्लामी मगर, प्रवक्तामा पृथ्वी गुरुङ, कोषाध्यक्ष सचिन भट्टराई, सहकोषाध्यक्षमा सुशिला थापा निर्विरोध चयन भएका छन् ।

त्यसैगरी १७ सदस्य पदका लागि २५ जनाको उम्मेदवारी परेकोमा राजु गुरुङ, सबिता पोखरेल, सरिता भारती, भीमा गुरुङ, मधु रसाइली, खेमराज तिवारी, रेजिना परियार, लक्ष्मी गुरुङ, सुस्मिता सापकोटा, रेश्मा तामाङ, रायन बस्याल, सन्तोष थापा, देवी आले, सूर्यकुमार परियार, सरोज लामिछाने, निशा गुरुङ र शम्भू श्रेष्ठ चयन भएका छन् ।