सुखान्त प्रेमकथामा म्युजिक भिडिओ ‘परदेशी’

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध सर्जक राजकुमार बगरको सङ्गीत/स्वरमा रहेको लोकपपमा आधारित कौरा गीत ‘परदेशी’ को भिडिओ सार्वजनिक भएको छ l प्राय: गीत लेखन र सङ्गीतमै व्यस्त रहने सर्जक ‘बगर’ ले आफ्नो स्वरमा लामो समयपछि यो गीत सार्वजनिक गरेका हुन् l गीतकार रिमबाबु रानाले रचना गरेको यस गीतमा डोलराज बाह्रघरेले सङ्गीत संयोजन गरेका छन् l भिडिओ iNAYAN नामक युट्युब च्यानलबाट आजै डिजिटल बजारमा आएको हो l

सर्जन थापाको निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा अशोक आले मगरको सिनेम्याटोग्राफी/सम्पादन रहेको छ भने सुजन थापा र अनु रानाले अभिनय गरेका छन् l विजय गुरुङले खिचेको मनमोहक पहाडी ड्रोन दृश्यहरुले जो कोहीको पनि मन लोभ्याउँछ l एउटा सुखान्त प्रेमकथा प्रस्तुत गरिएको यस भिडिओमा लामो समयपछि परदेशबाट फर्किएको युवक र आफ्नो प्रेमीको प्रतिक्षामा रहेकी युवतीको पुनर्मिलनलाई प्राकृतिक सुन्दरतासँग कलात्मक संयोजन गरिएको छ l मिलन पछिको बिबाहले कथालाई एउटा सुखद् अध्यायमा प्रवेश गराएको छ l परदेशबाट फर्किएको लाहुरेले आफ्नी दुलहीलाई सँगै लिएर बाटो लागेसँगै भिडिओ सकिन्छ l

भिडिओले नेपाली परिवेशको एउटा आम कथा बोकेको छ l धेरैजसो गीत तथा भिडिओहरु परदेशीका दु:खान्त कथामा बनिरहेको सन्दर्भमा यस भिडिओले सबै प्रेमकथाको अन्त्य पीडादायी मात्र हुँदैन भन्ने सकारात्मक सन्देश समेत दिएको छ l