असीमित प्रेम र समर्पणको गहिराईमा रमेश पाठक र रचना रिमाल

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय गायक रमेश पाठक र वर्तमान सङ्गीत बजारमा सर्वत्र  रुचाईएकी गायिका रचना रिमालको स्वरमा रहेको युगल गीत ‘मायाकै पिर’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ गायक पाठककै आधिकारिक युट्युब च्यानल Ramesh Pathak बाट आज डिजिटल बजारमा आएको हो l

गीत तथा भिडिओसँग सम्बन्धित कलाकार एवं प्राविधिकहरुको उपस्थितिमा अनामनगरस्थित वेभ स्टुडियोमा आयोजित अनौपचारिक कार्यक्रम पछि सो म्युजिक भिडिओ रिलिज गरिएको थियो l रमेश पाठककै शब्द/सङ्गीत रहेको यस गीतमा नारायण दङ्गालले सङ्गीत संयोजन गरेका छन् भने प्रदिप जोशीको मिक्सिङ्/माष्टरिङ रहेको छ l गीत वेभ स्टुडियोका प्राविधिक समिर कार्कीले रेकर्ड गरेका हुन् l

‘मायाकै पिर’ को भिडिओ कृष्ण रसालको निर्देशन/कोरियोग्राफीमा छायाङ्कन भएको हो l जसमा शिला गजुरेल र साजन नेपालले अभिनय गरेका छन् l भिडिओमा योगेश दाहालको सिनेम्याटोग्राफी र दिन्शन शाहको भिडिओ तथा कलर सम्पादन रहेको छ l गीतमा एक अर्कालाई अगाध माया गर्ने जोडीका प्रेमिल भावहरु व्यक्त भएका छन् l असीमित प्रेम र समर्पणले भरिएको यस गीतमा आफूले हृदयबाट प्रेम गरेको मान्छे जीवनका हरेक पलमा कसरी छाएको हुन्छ भन्ने यथार्थपरक भाव सुन्न सकिन्छ l गीतको भाव अनुसारको कोरियोग्राफी र अभिनयले भिडिओलाई जीवन्त बनाएको छ l गायक पाठकले करिव २ महिना अघि ‘तिमी नै तिमी’ बोलको म्युजिक भिडिओ सार्वजनिक गरेका थिए l