चलचित्र कलाकार सङ्घद्वारा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ समक्ष ध्यानाकर्षण


नेपाल चलचित्र कलाकार सङ्घको प्रतिनिधिमण्डलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष भ्रष्टाचार, दण्डहिनता, अनियमितता लगायतका अपराधजन्य क्रियाकलापको अन्त्य गर्न माग गरेको छ । सङ्घका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा गएको टोलीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी भ्रष्टाचार न्यूनीकरणका लागि मन्त्रालयले थप कडाई गर्नुपर्ने भन्दै लिखित रुपमा ध्यानाकर्षण गराएको हो ।

सङ्घको परिचयपत्र वाहक कलाकारहरुलाई सिंहदरबार लगायतका प्रशासनिक केन्द्रहरु प्रवेशमा सहजता माग गरिएको सो ध्यानाकर्षण पत्रमा धापासीस्थित नेपाल चलचित्र कलाकार सङ्घको नाममा रहेको जग्गा उपभोगको लागि अनुरोध गरिएको छ । विशिष्ट चलचित्रकर्मीहरु लगायत प्रवुद्ध नागरिक र जनसाधारणले जम्मा गरेको अरबौं रकम सिभिल सहकारीले अपचलन गरेकामा सो रकम सम्बन्धित पीडितलाई फिर्ता गराउन पनि अनुरोध गरिएको छ । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको सुशासन र विकासको लागि बाधक तत्वका रुपमा रहेको भ्रष्टाचारको न्यूनीकरणका लागि सरकार संवेदनशील रहेको बताउँदै कलाकारलाई सुविधा तथा सहुलियत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको कुरा नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो ।