चलचित्र ‘गोर्खा वारियर’को प्रीमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवर्ल्ड’मा गरिने भएको छ । त्यहाँ नेपाली चलचित्रकै इतिहासमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो । यो प्रिमियर सन २०२३ सेप्टेम्बर १० आईतबार गरिने आयोजक चाम्स इन्टरटेनमेन्टले जनाएको छ । यो प्रीमियरमा दुई हजार दर्शकलाई चलचित्र ‘गोर्खा वारियर’ देखाईने यस चलचित्रका निर्माता एवम् निर्देशक मिलन चाम्सले बताएका छन् । काठमाण्डौमा पत्रकार भेटघाट आयोजना गर्दै निर्देशक मिलन चाम्सले भने,‘नेपाली चलचित्रलाई विश्वब्यापी बजारमा पुर्याउने नेपालीहरुले देखेको सपनालाई चलचित्र ‘गोर्खा वारियर’ मार्फत अब साकार पारिने भएको छ । नेपालीहरु साहसीको रुपमा विश्वमा चिनाउन सफल नेपाली गोर्खा सैनिकको वीरगाथामा यो चलचित्र आधारित रहेको छ ।’
यसरी लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवर्ल्ड’ मा गरिने चलचित्र ‘गोर्खा वारियर’को यो प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु, हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरुसँगै बेलायतका राजपरिवार, सांसदहरु, स्थानीय निकायका प्रमुखहरु, बेलायती सैनिकका जनरल, बृटिस गोर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु, बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारीहरु, विभिन्न सरकारी र गैर सरकारी सङ्घ संस्था एवम् निकायका उच्च ओहदाका व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको छ । यस्तै नेपालबाट नेपाल सरकारका विशिष्ट व्यक्तिहरुलाई पनि सो प्रिमियरमा निमन्त्रणा गरिएको कुरा चाम्सले बताएका छन् ।
निर्देशक चाम्सका अनुसार यसरी लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवर्ल्ड’मा चलचित्र ‘गोर्खा वारियर’लाई रेड कार्पेट प्रिमियर गर्नुको उद्देश्य नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउनु नै हो,‘यो प्रिमियरको खर्च निकै छ । जसबाट एउटा नेपाली चलचित्र नै निर्माण गर्न सकिन्छ । तथापि नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउनका लागि मार्केटिङको यो बाहेक अरु बिकल्प हामीले देखेनौं’ मिलन चाम्सले भने । हलिउडको ३०० मिलियन अमेरिकी डलरमा बनेका सिनेमा पनि लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवर्ल्ड’मा प्रिमियर हुन्छ । नेपाली चलचित्रलाई त्यहाँ प्रिमियर गर्न आफूले २० वर्ष अघि देखेको सपना बल्ल पूरा हुन लागेको पनि निर्देशक चाम्सले कार्यक्रममा बताए l उनले भने-‘यो नेपाली चलचित्र उद्योगकै लागि गौरवको कुरा हो । अर्को तर्फ अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रलाई पुर्याउनका लागि यो अन्तर्राष्ट्रिय स्तरकै उपयुक्त विषयबस्तु भएकाले पनि हामीले यो साहस गरेका हौं ।’
यसरी लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’बाट सुरु भएको चलचित्र ‘गोर्खा वारियर’को प्रिमियरलाई सेप्टेम्बर महिनाभरि निरन्तरता दिईने भएको छ । तसर्थ सेप्टेम्बर २०२३ लाई ‘गोर्खा वारियर’को प्रिमियर महिनाको रुपमा मनाईने भएको छ । यो चलचित्रलाई बेलायतपछि हङकङ, सिँगापुरलगायत विभिन्न देशमा पनि सेप्टेम्बर महिनाभरि प्रिमियर गर्ने तयारी भईरहेको पनि निर्देशक चाम्सले जानकारी गराए । पत्रकार सम्मेलनमा बोल्दै कलाकार बिजय लामाले आफूले अहिलेसम्म काम गरेको चलचित्र मध्ये ‘गोर्खा वारियर’ सबैभन्दा ठूलो महत्वको चलचित्र भएको बताए ।
सन १९४९ को ‘मलाया इमरजेन्सी जङ्गल वार’मा गोर्खाली सैनिकले देखाएको साहसिक युद्धकथालाई यो चलचित्रमा उतारिएको छ । चलचित्र ‘गोर्खा वारियर’ नेपाली, अंग्रेजी र हिन्दी गरी तीन भाषामा रिलिज हुँदैछ । यो फिल्मलाई हलिउडको बितरक कम्पनीले विश्वव्यापी वितरण गर्दै छ । यसको हिन्दी र अंग्रेजी सँस्करणको पनि अन्तिम तयारी भईरहेको छ । चलचित्र ‘गोर्खा वारियर’को पोष्ट प्रोडक्सनको कार्य यतिबेला भारतको मुम्बई र बेलायतको लन्डन स्थित स्टुडियोमा भईरहेको छ । यो चलचित्रलाई हलिउड स्तरको बनाउने प्रयास भईरहेको पनि उनले बताए । यस अघि टिजर रिलिजपछि राम्रो हाईप बनाएको चलचित्रलाई अब लन्डनबाट गरिने प्रिमियरले विश्वव्यापी चिनाउने पनि उनले बताए ।
‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै ‘गोर्खा वारियर’मा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका विभिन्न कलाकारको अभिनय रहेको छ ।
‘गोर्खा वारियर’मा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको सङ्गीत, राजेशपायल राईको गायन र राजेन्द्र मोक्तानको रङ्ग संयोजन रहेको छ । यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रेकर्ड गरिएको छ । चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुस्मिता वाइवा र सुमन राई छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।