चलचित्र पत्रकार सङ्घद्वारा पत्रकारहरु सम्मानित/पुरस्कृत, विजयरत्नले पाए ‘पेशागत सुरक्षा भत्ता’  

-तुलसी गिरी ‘भावुक’

सिनेमा, सङ्गीत लगायतका कला विधामा क्रियाशील पत्रकारहरुको छाता सङ्गठन चलचित्र पत्रकार सङ्घले वरिष्ठ कला पत्रकार शान्तिप्रियलाई नगद रू. ५५ हजार ५ सय ५५ सहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ द्वारा सम्मानित गरेको छ l सङ्घद्वारा गत आईतबार आयोजित २४ औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवस समारोहमा पत्रकार शान्तिप्रियलाई सो सम्मान अर्पण गरिएको हो l यो सम्मान सङ्घले यसै वर्षदेखि सुरु गरेको हो l

यसैगरी समारोहमा वरिष्ठ कला पत्रकार तुलसी गिरी ‘भावुक’ र श्रीराम सिग्देल ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ बाट सम्मानित भए भने कुबेर डङ्गोल र दीपज्योति थापा जनही नगद रू. ५१ हजार सहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भए l सो कार्यक्रममा एक थान ल्यापटप सहित सृष्टि पोखरेल ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ बाट र रू. २५ हजार नगद सहित ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ बाट रवि अधिकारी समेत पुरस्कृत भएका थिए l सङ्घले गरेको पूर्व घोषणा अनुसार समारोहमा ६० वर्ष नाघेका वरिष्ठ कला पत्रकार विजयरत्न तुलाधरलाई ‘पेशागत सुरक्षा भत्ता’ प्रदान गरियो l तुलाधरले मासिक ४ हजारका दरले २०८० वैशाख र जेठ महिनाको रू. ८ हजार भत्ता पाएका थिए l सङ्घले ‘पेशागत सुरक्षा भत्ता’ यसै वर्षबाट सुरु गरेको हो l तुलाधर पहिलो र एकमात्र भत्ता पाउने पत्रकार हुन् l  

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, प्रथम नेपाली रङ्गीन चलचित्रकी नायिका चैत्यदेवी, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, पूर्व अध्यक्ष विदुर गिरी, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, निर्माता सङ्घका अध्यक्ष नवल खड्का, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत सहितले सम्मान, पुरस्कार तथा कदरपत्र हस्तान्तरण गरेका थिए l कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, द्वन्द्व कलाकार सङ्घका अध्यक्ष नारायण प्रधान, निर्माता तथा वितरक गोपाल कायस्थ, अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेता पल शाह, निर्देशक शोभित बस्नेत, निर्माता सुनिल कुमार थापा लगायतको उपस्थिति रहेको थियो ।

SUBSCRIBE 👉