गीतकार दुर्गालाल श्रेष्ठलाई नगद रू. १ लाख ५१ हजार सहित सम्मान गरिने  

-तुलसी गिरी ‘भावुक’

गीतकार सङ्घ नेपालले यस वर्षको ‘अमर–भावना राष्ट्रिय स्रष्टा सम्मान–२०७९’ जनकवि/गीतकार दुर्गालाल श्रेष्ठलाई प्रदान गर्ने भएको छ l सङ्घले स्थापना दिवसको अवसरमा हरेक वर्ष एक भव्य कार्यक्रमको आयोजना गरी एकजना अग्रज गीतकारलाई नगद रू. १ लाख ५१ हजार र ताम्रपत्र सहित यो सम्मानले विभूषित गर्दै आएको छ l सङ्घले एक विज्ञप्ति प्रकाशित गरि गत वैशाख २९ र जेठ ५ गते बसेको बैठकले जनकवि/गीतकार श्रेष्ठलाई सो सम्मान अर्पण गर्ने निर्णय भएको जनाएको छ l वार्षिक समारोह आगामी जेठ १४ गते राजधानीमा आयोजना हुने छ l

यसैगरी सङ्घले सो अवसरमा अमेरिकामा बसेर गीत लेखनमा उल्लेख्य योगदान पुर्याएका गीतकार खेम रिजाललाई नगद रू. १५ हजार र प्रमाणपत्र सहित ‘डायस्पोरा गीतकार सम्मान–२०७९’ बाट सम्मानित गर्ने छ भने  नगद रू. २५ हजार २ सय ५२ र प्रमाणपत्र सहित लिम्बू भाषाका गीतकार भगत सुब्बालाई ‘विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान–२०७९’ र राष्ट्रिय गानका रचयीता प्रदिप कुमार राई (ब्याकुल माइला) लाई नगद रू. १५ हजार सहित ‘गीतकार विशेष सम्मान’ प्रदान गरिने कुरा सङ्घद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ l

उत्कृष्टताको आधारमा हरेक वर्ष नगद सहित ‘वर्ष गीत पुरस्कार’ र ‘वर्ष गीत पुस्तक पुरस्कार’ समेत प्रदान गर्दै आएको सङ्घले यस वर्षका लागि उत्कृष्ट १० गीत/गीतकार र उत्कृष्ट ३ गीति पुस्तकको नाम समेत सार्वजनिक गरेको छ l  ‘भैरवनाथ रिमाल ‘कदम’ वर्ष गीत पुरस्कार’ र ‘जगत मर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार’ का विजेताहरुको नाम भने कार्यक्रमस्थलमै सार्वजनिक गर्ने परम्परा रहँदै आएको छ l

प्राप्त जानकारी अनुसार उत्कृष्ट १० गीतमा उमेश लम्सालको ‘एकमुठी सास’, सन्जिव पारदर्शीको ‘भुइँ सोरी ढोगें है’, रत्न प्रसाद अनामणि श्रेष्ठको ‘आज मेरो कक्षामा’, अरुण तिवारीको ‘जन्म र मृत्यु’, घन बहादुर थापा मगरको ‘छोड्दै थिएँ जन्म थलो’, सुन्दर पन्तको ‘न त खेल हो’, गोविन्द शृङ्खलाको ‘आउँछु भन्यौ’, मदन माबोको ‘ऐनाको अघि उभेर’, प्रेनिङ प्रयास राईको ‘गाउँ घरको बोलीले’ र ध्रुब प्रसाद अम्गाईंको ‘जमानत गुमायौ’ परेका छन् भने उत्कृष्ट तीन गीति पुस्तकमा गंगाराज मुकारुङको ‘यला यला’, गणेश श्रेष्ठ ‘अपेक्षा’को ‘गीतसँग अपेक्षा’ र टीका भट्टराई नेपालको ‘अनुभूतिका स्वरहरु’ छनोट भएका छन् l