अनेसास जापानद्वारा ऋषभदेव घिमिरे, राजेन्द्र केसी र प्रकाश सुवेदी सम्मानित    


व्यावसायिक कामकाज र भ्रमणको सिलसिलामा जापान आइपुगेका चर्चित छन्दकवि तथा अनेसास नेपाल च्याप्टरका महासचिव ऋषभदेव घिमिरे, कवि तथा चलचित्रकर्मी राजेन्द्र केसी र आफूलाई गीतकारको रूपमा स्थापित गरेका चर्चित गीतकार तथा चलचित्रकर्मी प्रकाश सुवेदीलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जापान च्याप्टरले स्वागत र सम्मानसहित मायाको चिनो प्रदान गरेको छ ।

टोकियोको सिन ओकुवोमा रहेको प्याराडाइज रेष्टुरेण्टमा मे २० तारिख सम्पन्न भएको सो कार्यक्रममा नेपालबाट आएका साहित्यिक व्यक्तित्त्वहरूलाई स्वागत तथा सम्मान गर्न अनेसास केन्द्रका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला, अनेसास केन्द्रका सचिव दीप पाठक, अनेसास जापान च्याप्टरका अध्यक्ष रविन शर्मा, एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल, एनआरएनए जापानका प्रवक्ता सुवास लामिछाने, नेपाल पत्रकार महासंघ जापान च्याप्टरका निवर्तमान अध्यक्ष मोहन घले, मिडियाकर्मी दिलिप श्रेष्ठ, एनआरएनए आइसिसी उपाध्यक्ष एवम् अनेसासका पूर्व महासचिव भूषण घिमिरे, अनेसास जापानका पूर्व अध्यक्षद्वय राज ज्ञवाली र आलोक चालिसे, साहित्यकार गृष्मा पौड्याल, जापान भ्रमणमा रहनु भएका शिक्षक होमनाथ अर्याल लगायत जापानस्थित नेपाली समाज र समुदायलाई प्रतिनिधित्व गर्ने विभिन्न व्यक्तित्त्वहरू सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा सम्मानित कविहरू तथा अन्य उपस्थित कविहरूले आफ्ना रचना वाचन गरी सुनाउनु भएको थियो ।

मान्छे मनोरञ्जनका लागि जहाँसुकै पुगे पनि र रमाए पनि, जे जे उपलब्धी हासिल गरे पनि आफ्नोपन भेट्दा जति खुसी हुन्छ अरु केहीमा पनि हुन सक्दैन भन्दै आफूलाई पनि आजको कार्यक्रमले सोही आभास दिलाएको कवि ऋषभदेव घिमरेलेले बताउनुभयो । यसरी नै दुई महिना अगाडिदेखि जापानका विभिन्न सहर र कुनाकाप्चामा भ्रमण गर्दै हिँडेका प्रकाश सुवेदीले यति लामो जापान बसाइमा नेपालीहरूले दिएको अपार मायाले एक दिन पनि विरानो महसुस हुन नपरेको र जहाँ पुग्दा पनि त्यत्तिकै माया र सम्मान पाएको बताउनुभयो ।

कार्यक्रममा प्रकाशले यो तपाईँहरूकै कथा हो भन्दै सम्झिएर बालबच्चा घर खेतबारी, असारै लाग्यो दर्कियो पानी लगायतका गीतहरू वाचन गर्नुभएको थियो ।यसरी नै अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष्य तथा चलचत्रकर्मी राजेन्द्र केसीले जापानको साकुरासम्बन्धी कविता सुनाउनुभएको थियो । कार्यक्रममा अनेसास जापानका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइलाले परदेशमा बसेर कलम चलाउने कविका कलम पनि निकै सशक्त रहेको बताउनुभयो ।

यस्तै जापान च्याप्टरका अध्यक्ष रविन शर्माले स्वदेशी कविहरूलाई परदेशी माटोमा यसरी सम्मान गर्न पाउँदा गर्वबोध भएको बताउनुभयो । कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले एकैछिन मात्र भेटेर फर्किहाल्छु भन्ने सोच राखेर आएको भए पनि कविहरूको माहोलले दुई घण्टाको समय गएको पत्तै भएन भन्दै आगामी दिनमा यस्ता रचनात्मक कार्यक्रममा एनआरएनएको पनि साथ रहने बताउनुभयो ।

-साहित्य पोष्ट डटकमबाट साभार