गीतकार ताराको सन्देशमूलक भावमा वियोगान्त कथा ‘हे बरै’

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध गीतकार तारा अधिकारीको शव्दरचनामा रहेको गीत ‘हे बरै’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ गीतकार अधिकारीकै अफिसियल युट्युब च्यानल Sunaulo Tara Motion Pictures बाट आज डिजिटल बजारमा आएको हो l किशोर विश्वकर्माको सङ्गीत तथा स्वर रहेको यस गीतमा दीपकराज विश्वकर्माले म्युजिक एरेन्ज, मिक्सिङ र माष्टरिङ गरेका छन् l

‘हे बरै’ को भिडिओ पछिल्लो समय लगातार भिडिओ निर्देशन र अभिनयमा समेत क्रियाशील रहँदै सङ्गीत क्षेत्रमा बहुआयामिक परिचय स्थापित गरिसकेकी गीतकार तारा अधिकारीकै निर्देशनमा छायाङ्कन भएको हो l जसमा लक्ष्मणविक्रम बस्नेत, रश्मी भट्ट, विनोद सुनार, अनुजा अधिकारी र निमिषा घिमिरेले अभिनय गरेका छन् भने नहकुल खड्काको सम्पादन रहेको छ l भिडिओ सुनौलो ताराको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो l

केही फरक चिन्तन र प्रस्तुतिका साथ आफ्ना म्युजिक भिडिओ सार्वजनिक गर्दै आएकी गीतकार ताराले यस पटक स्वदेशमा भविष्य नदेखिपछि विभिन्न सिलसिलामा युवा पिंढी विदेश जाने र उतै पलायन हुने अवस्थाले नेपाली समाज र परिवारभित्र सिर्जना गरेको विकराल पीडाको स्थितिलाई मार्मिक ढङ्गले प्रस्तुत गरेकी छिन् l बुढ्यौली र रोगले थलिएका बाबुआमा छोराछोरी कहिले घर फर्कलान् भन्ने आशै आशामा कसरी एकांकी जीवन जिउन, भौतिक वैभवताकाबीच पनि पीडै पीडामा बाँच्न र बेसहारा अवस्थामै कसरी जीवन त्याग्न बाध्य छन् भन्ने शाश्वत कथा गीत तथा भिडिओले प्रस्तुत गरेको छ l नेपाली समाजमा छोराछोरीलाई ‘बुढेसकालको सहारा’ भन्ने गरिएको भएपनि बदलिँदो समयमा यी भनाई र आशाहरु मिथ्या हुन थालेको कुरा भिडिओले छर्लङ्ग पारेको छ l

यो भिडिओ एउटा साङ्केतिक प्रस्तुति मात्र हो l यसले झुप्रोदेखि महलसम्म उकुशमुकुश जीवन बाँचिरहेका लाखौँ बाबु आमाको कथा बोकेको छ l सन्देशमूलक प्रस्तुति एवं यथार्थपरक भाव बोकेको यो भिडिओले नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने छ भन्ने विश्वास गर्न सकिन्छ l