श्रीदेव र अनुको अभिनयमा सन्देशमूलक भिडिओ ‘समयले जुरायो’

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध गायक शिव परियार र गायिका मिना नेपालीको स्वरमा रहेको गीत ‘समयले जुरायो’ को भिडिओ सार्वजनिक भएको छ । गत सोमबार ओ.एस.आर. डिजिटल नामक युट्युब च्यानलमार्फत डिजिटल बजारमा आएको यो भिडिओले अपलोड भएको छोटो समयमै १ लाख नजिक भ्युज पाईसकेको छ l

  प्रमोद भट्टराई (प्रतीक) को शब्दरचनामा रहेको यस गीतमा लोकप्रिय सञ्चारकर्मी तथा कलाकार सरोज कोइरालाको सङ्गीत  रहेको छ भने म्युजिक एरेन्ज विकाश सुनारले र मिक्सिङ/माष्टरिङ पुष्कर खत्रीले गरेका छन् । भिडिओमा  लोकप्रिय अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनु शाहको अभिनय रहेको छ । आम म्युजिक भिडिओ भन्दा केही फरक स्वाद दिन खोजिएको यस भिडिओमा नायक नायिकाले लिप्सिङ दिएका छैनन् l नवल नेपालको निर्देशनमा छायाङ्कन भएको यस भिडिओका सिनेम्याटोग्राफर नवराज उप्रेती हुन् भने नवीन निरौलाले सम्पादन गरेका छन् ।

सन्देशमूलक कथावस्तुमा निर्माण गरिएको यस भिडिओमा एक विधवा नारीको पुनर्विवाहको समर्थन गरिएको छ l भिडिओमा नायकलाई पीडायुक्त एकल जीवन बाँचिरहेकी नायिकाप्रति आकर्षित भएको देखाईएको छ भने अनेक द्विविधाका बाबजुद अन्त्यमा नायिकाले सो प्रस्तावलाई स्वीकार गरेकी छिन् l संयोगान्त अन्त्य भएको यस भिडिओमा श्रीदेव र अनुको जोडीलाई आकर्षक देखिएको छ l