लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘लोजिमा’ को डबिङ सम्पन्न


लिम्बू संस्कृतिमा आधारित चलचित्र लोजिमाको एन. के. अडियो प्रोडक्सन अनामनगरमा हालै डबिङ सम्पन भएको छ l  मानशी किरणले चलचित्रको डबिङ गरेका हुन् l हालको उच्च डिजिटल प्रविधि प्रयोग गरेर काम गरिएकोले दर्शकहरुले उत्कृष्ट साउण्डको मज्जा लिँदै चलचित्र अवलोकन गर्न सक्ने कुरा चलचित्रका निर्देशक सागर सुब्बाले बताएका छन् l  

पाथीभरा च्यानलको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रको विशेष प्राविधिक सहयोगीमा दर्जनौं सुपरहिट चलचित्रका मुख्य सहायक निर्देशक वसन्त अधिकारी रहेका छन् भने सम्पादन सञ्जय अधिकारी र पार्श्व सङ्गीत अशोक लोहरुङ राईको रहेको छ l चलचित्रमा सर्वोत्कृष्ट राष्ट्रिय सांस्कृतिक अवार्ड पाउन सफल चलचित्र ‘कुसुम’ को निर्देशन गरेर चर्चामा आएका निर्देशक सागर सुब्बाको कथा/निर्देशन रहेको छ । लिम्बू संस्कृति तथा जीवन्त प्रेम कथामा आधारित चेतना एवं सन्देशमूलक यस चलचित्रको पटकथा/सम्वाद सागर केरुङले लेखेका हुन् ।

बिमला लिम्बूले चलचित्र ‘लोजिमा’ मा शीर्ष भूमिकामा कथाको माग अनुसार जीवन्त अभिनय गरेकी छिन् भने मिस टिन इन्डिया हुँदै मिस टिन युनिभर्सल टप सेभेन सहारा हाङमा लिम्बूले यस चलचित्र मार्फत नायिकाको रुपमा डेब्यु गर्दै छिन् l चलचित्रमा सहारा हाङमाको जोडीको रुपमा नायक रुद्र पाहिमले अभिनय गरेका छन् l गायकको रुपमा आफ्नो परिचय बनाईसकेका, नृत्य र विभिन्न कार्यक्रम मार्फत आफ्नो बेजोड अभिनयले चर्चित आशाहाङ आङबो पनि यस चलचित्रबाट नायकको रुपमा अगाडि आएका छन् l

चलचित्रमा निर्माता आशाहाङ आङ्बो, कार्यकारी निर्माता पम्फावती राई, मुख्य सहायक निर्देशक दीपक अधिकारी, छायाकार रविन्द्र बराल र शृङ्गार आर्टिष्ट नरेश खरेल रहेका छन् भने गीतमा अशोक लोहरुङ राईको म्युजिक एरेन्ज र मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ । निर्माण प्राविधिक टिम र कथाको माग अनुसारका कलाकार भएकोले निर्देशक सुब्बा ‘लोजिमा’ उत्कृष्ट बन्नेमा विश्वस्त छन् ।