‘कथित जनयुद्ध’ले निम्त्याएको पीडा म्युजिक भिडिओमा

-प्रकाश बराईली ‘अभिव्यक्ति’

पछिल्लो समय नेपाली साङ्गीतिक बजार उच्च व्यावसायिक बन्दै गईरहेको छ । एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसँगै कलाकारहरुको व्यस्तता र व्यावसायिकता पनि बढेर गएको छ । सोही क्रममा पृथक खालको नयाँ गीत खतीको भिडिओ सार्वजनिक भएको छ । यस गीतमा बहुप्रतिभाशाली सर्जक/कलाकार डि.आर. सुजनको स्वर रहेको छ भने साहित्यकार बिमला हुमागाई (बोध श्री) को शब्द र डि.आर सुजनकै सङ्गीत तथा थेगो रहेको छ ।

खती गीतमा कथित जन जनयुद्ध, द्वन्द्वकालका कथा ब्यथा, माओबादीले नेपाली जनताहरुलाई झुटो आश्वासन र धम्की दिएर भोट हाल्न लगाएको साथै माओबादीको कथित जनयुद्धबाट धेरै ब्यक्तिहरुको ज्यान गएको, कसैका बुवा आमा, कसैका श्रीमान्/श्रीमती, कसैका दाजुभाइ, कसैका छोराछोरी त कसैका दिदी बहिनीको मृत्यु भएर परिवारमा पीडा थपिएको कुरालाई समेट्ने प्रयास गरिएको छ । साथै माओबादीले आन्दोलनको नाममा ज्यादती गरेको र नेपाली चेलीबेटीहरुलाई बलात्कार र हत्या समेत गर्ने गरेको कुरा पनि म्युजिक भिडिओमा प्रस्तुत गरिएको छ ।

गीतकार बिमला हुमागाई (बोध श्री) र गायक/सङ्गीतकार तथा निर्देशक डि.आर. सुजन भन्छन्- ‘हामीले यथार्थ कुरा भिडिओमा उतार्ने प्रयास छौं । माओबादीको सरकार भएको बेला उनीहरुमा चेतना आओस् र बिगतलाई सम्झने कोसिस् गरुन् भन्ने उद्देश्यले पनि हामीले यो गीत सार्वजनिक गरेका हौं । यदि हामीलाई सरकारले कारबाही गर्छ भने जस्तो सजाय पनि भोग्न तयार छौं ।’

माओबादी सरकारले केहीदिन अघि अयोग्य लडाकुहरुलाई रू. २ / २ लाख को दरले रकम दिने निर्णय पनि गरेको छ । यही निर्णय भएको बेला खती नामक गीत सार्वजनिक गरिएको कुरा निर्माण पक्षले बताएको छ ।

खती शीर्षकको गीतमा डि.आर. सुजनको कथा तथा निर्देशन रहेको छ भने करण चैसिरको छायाङ्कन, बिबेक सुनारको सम्पादन र मिलन बिश्वकर्माको रङ्ग संयोजन रहेको छ । भिडिओमा रिता केसी, डि.आर. सुजन, बिमला हुमागाई (बोध श्री), सूर्य ओली, सुष्मा खड्का, बिमला तामाङ, भरत गोर्खाली, सुशान्त दोङ आदिको अभिनय रहेको छ । भिडिओ बोध अनलाईन टिभी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।