सङ्गीतकर्ममै रमाएका कलाकार खगेन्द्र

-तुलसी गिरी ‘भावुक’

विगत ११ बर्षदेखि गायन र वाद्यवादनलाई प्रमुख विधा बनाएर निरन्तर व्यावसायिक सङ्गीतकर्ममा लागिरहेका एक प्रतिभाशाली कलाकारको नाम हो खगेन्द्र विश्वकर्मा l नागरिकतामा खगेन्द्र कामी भएपनि उनी आफ्नो कर्म क्षेत्रमा खगेन्द्र विश्वकर्माको नामले सुपरिचित रहेका छन् l वाद्यवादक भन्दा पनि आफूलाई गायक नै भनेर चिनाउने उद्देश्यका साथ अगाडि बढिरहेका खगेन्द्रको मुख्य बाजा भने हार्मोनियम हो l तथापि उनी अन्य केही बाजाहरु समेत उत्तिकै कुशलताका साथ बजाउने गर्दछन् l

साबिक बाबियाचौर गाबिस-१ र हालको पञ्चपुरी-५, सुर्खेतमा पिता गंगे कामी र माता भद्रकला कामीको परिवारमा पहिलो सन्तानको रुपमा जन्म लिएका खगेन्द्रका ४ बहिनीहरुको समेत जन्म भएको थियो l सानो उमेरदेखि नै उनी गीत-सङ्गीतप्रति गहिरो अभिरुची राख्थे l प्राकृतिक रुपमै, बिना साधना पनि मीठो गला भएका खगेन्द्रले गाउँमा छँदा धेरै अग्रज तथा शुभचिन्तकहरुबाट व्यावसायिक गायनमा लाग्ने सल्लाह र प्रेरणा पाएका थिए l अन्ततः २०६५ सालमा उनी गायन विधामा औपचारिक ज्ञान आर्जनका लागि काठमाण्डौ आए र सांस्कृतिक संस्थानद्वारा सञ्चालन हुँदै आएको गायनतर्फको ६ महिने कोर्स पूरा गरेर जन्मथलो फर्किए l

सुर्खेतमा बसेर कलाकारितामा अवसरको ठूलो सम्भावना नहुने कुरा निश्चित थियो l त्यही कुरा मनन् गर्दै कलाकारितालाई नै व्यावसायिक रुपमा अगाडि बढाउने उद्देश्य, मनभरिका सपना र आत्मविश्वास बोकेर २०६८ सालमा पुन: राजधानी प्रवेश गरेका खगेन्द्र त्यसपछि सङ्गीतलाई नै प्रमुख कर्म बनाएर निरन्तर आफ्नो जीवनरथलाई अगाडि बढाईरहेका छन् l परोपकारमा पनि उत्तिकै सक्रीय चर्चित लोकदोहोरी गायक कृष्ण कँडेलद्वारा सञ्चालित नेपालकै सार्वाधिक लोकप्रिय लाइभ लोकदोहोरी कार्यक्रम ‘इन्द्रेणी’ मा विगत ११ वर्षदेखि प्रमुख हार्मोनीवादकको रुपमा कार्यरत खगेन्द्रले बेला बखत आफैं प्रमुख गायक भएर लाइभ लोकदोहोरी गाउने गरेका छन् भने अरुबेलाका हरेक कार्यक्रममा उनले हार्मोनी बजाउँदै गायकहरुलाई गायनमा साथ दिँदै आएका छन् l जिम्मेवारीको दृष्टिकोणले उनलाई कृष्ण कँडेलको ‘दाहिने हात’ भने पनि हुन्छ l

प्रसिद्ध सङ्गीत गुरु चण्डीप्रसाद काफ्लेसँग पनि १ बर्ष शास्त्रीय सङ्गीतको प्रशिक्षण लिएका खगेन्द्रले लाइभ दोहोरी गायनका अतिरिक्त हालसम्म लोकदोहोरी, आधुनिक र देउडा गरी लगभग डेढ दर्जन गीत प्रकाशन गरिसकेका छन् l काठमाण्डौ आउनु आघि नै २०६३ सालमा नेपालगंजस्थित वेभ डिजिटलमा ‘गरीबको झुप्रो’ बोलको गीत रेकर्ड गरेर गायन यात्राको औपचारिक पाइला अगाडि बढाएका खगेन्द्रको स्वरमा रहेका लोक तथा दोहोरीतर्फ ‘न त कसैको हुने बनायौ’, ‘रुमाल बोहनी’ देउडातर्फ ‘दूर दराजका बस्ती’ र ‘मेरो प्यारो जन्मथाली’ का भिडिओ युट्युबमा पनि हेर्न सकिन्छ l

२०७१ सालमा उनी काठमाण्डौमै भएको बेला भेरी नदीमा आएको बाढीले बुबा, आमा, १ र ४ बर्षका दुई अबोध दुधे छोरालाई घर जग्गा सहित बेपत्ता पारेपछि जीवनमा अकल्पनीय पीडाको भुमरीमा रुमल्लिएका खगेन्द्रको जीवन कुनै काल्पनिक चलचित्रको कथा झैँ लाग्छ l तर जीवन सङ्गिनी पवित्रा भाग्यवश रुखमा अड्किएर नबाँचेकी भए त्यो विपतलाई सहन गर्ने क्षमता उनमा हुन्थ्यो हुन्नथ्यो कल्पना गर्न सकिन्न l तर उनलाई यो धर्तीमा अझै बाँच्नु थियो र असल सङ्गीतकर्महरु गर्नु थियो l आज उनी सङ्गीतकर्मलाई नै पेशा बनाएर निरन्तर क्रियाशील कलाकारका रुपमा अघि बढिरहेका छन् , र जीवन पर्यन्त यो यात्रामा विराम नलाग्ने कुरा उनले बताएका छन् l