चलचित्र पत्रकार सङ्घद्वारा नयाँ पुरस्कारको घोषणा, अग्रज कला पत्रकारहरुलाई मानार्थ सदस्यता


चलचित्र पत्रकार सङ्घ नेपालले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । बुधबार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रममा सङ्घले ५५ हजार ५ सय ५५ रुपैयाको यो सम्मानको घोषणा गरेको हो । आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा सङ्घको २४ औं वार्षिकत्सवको अवसर पारेर उक्त सम्मान प्रदान गरिने कुरा कार्यक्रममा जानकारी गराइयो ।

कलाको विभिन्न विधामा कम्तिमा २५ वर्ष पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको र १५ वर्षभन्दा बढी निरन्तर सङ्घमा आबद्ध एकजना पत्रकारले हरेक वर्ष जेठ ७ गते उक्त सम्मान प्राप्त गर्ने सङ्घका अध्यक्ष समीर बलामीले जानकारी दिए । उनले अग्रज पत्रकारको हौसला बढाउन रजत सम्मान सुरु गर्न लागिएको बताए ।

कार्यक्रममा अध्यक्ष बलामीले पूर्व चलचित्र पत्रकारलाई मानार्थ सदस्यता समेत बितरण गर्ने बताए । ‘पहिले चलचित्र पत्रकारिता गरेका र अहिले बिभिन्न कामले पत्रकारिता भन्दा बाहिर रहेका ब्यक्तिलाई सम्मान र एकढिक्को गर्न हामीले मानर्थ सदस्यता प्रदान गर्न लागेका छौं । मानार्थ सदस्यको भोटिङ राइट भने हुनेछैन’ बलामीले थपे ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसी, निर्माता सङ्घका अध्यक्ष नवल खड्का, चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जन, नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बल, सांस्कृतिक संस्थानका महाप्रवन्धक असोक प्यासी राई, सङ्घका पूर्व अध्यक्षहरु बिदुर गिरी, शान्तिप्रिय, दिनेश सिटौला, नेपाल चलचित्र सङ्घका उपाध्यक्ष गोपालकाजी कायस्थ, नेपाल फिल्म एण्ड कल्चर एकेडेमीका अध्यक्ष केपी पाठक, चलचित्र सेन्सर बोर्डका सदस्य भूपेन्द्र खड्का, ऋषिराज आचार्य, चलचित्र बिकास बोर्डका सदस्य रवि अधिकारी लगायतको उपस्थिति रहेको थियो l समारोहमा सङ्घले २०८० सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ ।

चलचित्र पत्रकार सङ्घले हरेक वर्षको जेठ ७ गते आफ्नो स्थापना दिवस पारेर दुई जनालाई ५१ हजार राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ र दुई जनालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ का साथै एक जनालाई एउटा ल्यापटप सहितको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’, २५ हजार नगद सहित मोफसलका एक पत्रकारलाई ‘राष्ट्रिय मोफसल पत्रकारिता पुरस्कार’ प्रदान गर्दै आएको छ । यस बर्षबाट सङ्घले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ थपेको हो ।

कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष केसीले चलचित्र ऐन निर्माणका लागि सरकारसँग आवश्यक पहल भइरहेको बताए । उनले चलचित्र ऐन निर्माणका लागि सम्बन्धित मन्त्रालयमा ड्राफ्ट बुझाइसकेको र मन्त्रालयले पनि ऐन निर्माणको लागि छिटो काम थाल्ने जानकारी दिए । उनले चलचित्र पत्रकारलाई आफूले जहिले पनि सहयोग गर्न तयार रहेको बताए ।

चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले चलचित्रसँग सम्बन्धित सबै सङ्घ संस्थाले एक अर्कासँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । उनले आफ्नो फिल्म काँडेतार सेन्सरले पास नगरेको कुरा जानकारी गराउँदै जस्ताको त्यस्तै पास नगरे   अदालत जाने चेतावनी दिए ।

सांस्कृतिक संस्थानका महाप्रवन्धक राई, नेपाल टेलिभिजनका महाप्रवन्धक वल, कलाकार सङ्घका अध्यक्ष मोहन निरौला लगायतले चलचित्र सम्बन्धी सङ्घ-संस्था एकअर्कासँग मिलेर र हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए । यसरी सबै मिलेर अगाडि बढ्न सके सबैको समस्याको समाधान गर्न सकिने उनीहरुको धारणा रहेको थियो । कार्यक्रममा चलचित्र पत्रकार सङ्घका उपाध्यक्षद्वय  कुबेर गिरी, बिजय सुवेदी आवाज लगायत कार्यक्रमा समिति तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सङ्घका महासचिव रघुनाथ सापकोटाले गरेका थिए ।