मापदण्ड नपुगेका चलचित्र कलाकारहरुको सदस्यता खारेज हुने

-तुलसी गिरी ‘भावुक’

‘नेपाल चलचित्र कलाकार सङ्घ’ का अध्यक्ष मोहन निरौलाले विधान अनुसार मापदण्ड नपुगेका सदस्यहरुको सदस्यता खारेज हुने कुरा बताएका छन् l कलाकार सङ्घको आयोजनामा आज काठमाण्डौमा सम्पन्न ‘नयाँ बर्षको शुभकामना आदानप्रदान सहित धन्यवाद तथा बधाई ज्ञापन समारोह’ मा सङ्घका अध्यक्ष निरौलाले सो कुरा बताएका हुन् l पूर्व समयमा सदस्यता लिएका कतिपय व्यक्तिहरुले नागरिकता मात्र बुझाएको देखिएको र आजसम्म पनि आफू चलचित्र कलाकार भएको प्रमाण पुग्ने कुनैपनि कागजपत्र नबुझाएको जानकारी गराउँदै सो विषयमा छानबिन भईरहेकोले सङ्घमा उपस्थित हुन नसक्ने सदस्यहरुले यथाशीघ्र ईमेल मार्फत थप कागजपत्र पठाउन पनि अध्यक्ष निरौलाले आग्रह गरेका छन् l अध्यक्ष निरौलाले समग्र चलचित्र कलाकार एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै  कार्यसमितिका सदस्यहरु रातदिन कलाकारका समस्या समाधानकै लागि कुदिरहेको जानकारी गराएका छन् l कार्यक्रम सङ्घका अध्यक्ष मोहन निरौलाकै अध्यक्षतामा सम्पन्न भएको थियो l

समारोहमा कलाकार सङ्घले चलचित्र सङ्घ, चलचित्र निर्माता सङ्घ, चलचित्र प्राविधिक सङ्घ, चलचित्र निर्देशक समाज, चलचित्र पत्रकार सङ्घ, चलचित्र नृत्य सङ्घ र चलचित्र द्वन्द्व कलाकार सङ्घमा नयाँ कार्यकालका लागि हालै निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई नयाँ बर्षको शुभकामना सहित छुट्टाछुट्टै बधाईपत्रले सम्मान गरेको थियो l यसैगरी समारोहमा चलचित्र विकाश बोर्डमा हालै मनोनित सदस्य र चलचित्र जाँच समितिका नयाँ सदस्यहरुलाई समेत बधाईपत्रद्वारा सम्मान गरिएको थियो भने चलचित्र कलाकार सङ्घका निवर्तमान अध्यक्ष र कार्यसमिति सदस्यहरुलाई आभार तथा कदरपत्रले सम्मान गरियो l

समारोहमा सङ्घका महासचिव सविन श्रेष्ठले आफ्ना कुराहरु राख्दै नयाँ कार्यसमितिले चुनावी घोषणापत्रमा गरिएका प्रतिवद्धता अनुसार नै परिणाम महसुस हुनेगरि काम गरिरहेको बताए l चलचित्र क्षेत्रको प्रबर्धन र वर्गीय हितका लागि इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् l महासचिव श्रेष्ठले ७० वर्ष नाघेका सदस्यहरुलाई नि:शुल्क आजीवन सदस्यता दिईने निर्णय भएको कुरा समेत समारोहलाई जानकारी गराएका छन् l कलाकारका समस्याहरुको पहिचान र निराकरणका लागि ‘कलाकार सहायता तथा अनुगमन समिति’ गठन गरी काम अघि बढाईएको जानकारी गराउँदै महासचिव श्रेष्ठले न्युनतम पारिश्रमिक, अतिरिक्त पारिश्रमिक, भुक्तानीको समस्या, बिना सम्झौता काम गराउने प्रवृत्ति, बिमा, उपचारमा सहुलियत आदि विषयमा पनि सङ्घले कलाकारको हितमा पहल सुरु गरिसकेको कुरा जानकारी गराएका छन् l

कार्यक्रममा निवर्तमान अध्यक्ष रविन्द्र खड्का, पूर्व अध्यक्षहरु विशिष्ट कलाकार वसुन्धरा भुसाल, कृष्ण मल्ल, नवल खड्का, चलचित्र विकाश बोर्डका वर्तमान अध्यक्ष भुवन के. सी., पूर्व अध्यक्ष राजकुमार राई, चलचित्रकर्मी तथा लुम्बिनी प्रदेश सभासद रोज राणा, पूर्व कार्यवाहक अध्यक्ष सानु ताम्राकार, विशिष्ट कलाकार चैत्यदेवी लगायत चलचित्र क्षेत्रका विशिष्ट व्यक्तिहरुका साथै सर्जक, कलाकार र प्राविधिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो l  कार्यक्रम चलचित्र पत्रकार जीवन पराजुलीले सञ्चालन गरेका थिए l

SUBSCRIBE 👉