मिलनका असीमित खुशीहरु पोख्दै रमेश र शिला  

-तुलसी गिरी ‘भावुक’

भरखरै बिबाह बन्धनमा बाँधिएका प्रसिद्ध गायक एवं सङ्गीत व्यावसायी रमेश पाठकले जीवनसङ्गिनीको आगमनको खुशी, त्यस घटनाबाट आफ्नो जीवनमा परेका सकारात्मक प्रभाव र महत्वलाई साङ्गीतिक स्वरुप दिएर सबैसामु ल्याएका छन् l बिहीबार रिलिज गरिएको म्युजिक भिडिओ ‘तिमी नै तिमी’ मा उनले आफ्नो बिबाह र दुई आत्माको मिलन पछिका असीमित खुशीहरु पोखेका छन् l उनी स्वयमको शब्दरचना/सङ्गीतमा रहेको यस युगल गीतमा नारायण डंगोलको सङ्गीत संयोजन, नरेन्द्र वियोगीको मिक्सिङ/माष्टरिङ रहेको छ भने रमेशलाई गायनमा सुमना गुरुङले साथ दिएकी छिन् l

‘तिमी नै तिमी’ को भिडिओ राजाराम गिरीको निर्देशन एवं सम्पादनमा तयार भएको हो l जसमा योगेश दाहाल, निमेष गुरागाईं र राजाराम स्वयमको सिनेम्याटोग्राफी रहेको छ l भिडिओमा रङ्ग सम्पादन भने दिनशन शाहले गरेका छन् l जन्ती गएकोदेखि बिबाह मण्डप समेतका महत्वपूर्ण दृश्यहरु समावेश गरिएको यस म्युजिक भिडिओमा पछि छायाङ्कन गरिएका केही दृश्यहरु समेत राखिएको छ l केही दृश्य वास्तविक र केही अभिनय रहेको यस भिडिओमा रमेश पाठक र शिला गजुरेललाई बिछट्टै सुन्दर जोडीको रुपमा देखिएको छ l पारङ्गत एवं व्यावसायिक मोडल झैँ मनमोहक अभिनयको छाप छाड्न सफल यो जोडीलाई आगामी म्युजिक भिडिओहरुमा समेत हेर्ने अपेक्षा दर्शकमा हुन सक्छ l भिडिओमा जन्ती जाँदैगर्दाका ड्रोन शटहरु समेत समावेश गरिएको हुँदा पूर्व योजना अनुसार नै यस प्रकारको म्युजिक भिडिओ निर्माण भएको कुरा सहजै अनुमान गर्न सकिन्छ l

बेहुला स्वयमको शब्द/सङ्गीत र स्वर रहेको गीतमा बिबाह सहितका फुटेजहरु राखेर, बेहुला बेहुलीकै भावना र अभिनयमा निर्माण भएको म्युजिक भिडिओ सम्भवत: विश्वमै यो पहिलो हुन सक्छ l यस्ता अविष्मरणीय पलहरुलाई पनि म्युजिक भिडिओको स्वरूप दिन सकिने रहेछ भन्ने उदाहरण प्रस्तुत गरेर गीतकार, सङ्गीतकार, गायक र म्युजिक व्यावसायी रमेश पाठकले सङ्गीत क्षेत्रमा एउटा नौलो आयाम समेत थपेका छन् भन्दा फरक नपर्ला l