रेडियो नेपालकै इतिहासमा सङ्गीतकार शंकरद्वारा सफलताको दुर्लभ रेकर्ड

-तुलसी गिरी ‘भावुक’

गत चैत १७ गते सम्पन्न रेडियो नेपालको ७३ औं बार्षिकोत्सवको अवसरमा आयोजित आधुनिक गीत प्रतियोगितामा प्रसिद्ध सङ्गीतकार/गायक शंकर थापा ‘स्माइल’ रेडियो नेपालकै इतिहासमा ऐतिहासिक रेकर्ड कायम गर्न सफल भएका छन् l प्रतियोगितामा उनको सङ्गीतमा गीत गाउने ४ जना गायक/गायिका मध्ये ममता गुरुङ, मुना ठटाल र सरोज परियार पहिलो, दोस्रो र तेस्रो बिजेता भएका छन् भने उनले सङ्गीत गरेकै गीत समेत शब्दरचनातर्फ पहिलो भएको छ l यसलाई समस्त सङ्गीतकर्मीहरुले एउटा दुर्लभ सफलताकोको रुपमा मूल्याङ्कन गरेका छन् l रेडियो नेपालको इतिहासमा यस्तो कहिल्यै भएको थिएन l

प्राप्त समाचार अनुसार आधुनिक गीत प्रतियोगितामा देशैभरिबाट लगभग २०० गायक/गायिकाले भाग लिएकोमा अन्तिम प्रतिस्पर्धाका लागि ३० जना छानिएका थिए l जसमध्ये ‘तारा टिपेर माला लाउँछु’ बोलको गीतबाट गीतकार श्वेता मैनाली प्रथम भईन् भने सोही गीतकी गायिका ममता गुरुङले पनि गायनमा प्रथम उपाधि हात पारिन् l यसैगरी डी.पी. खनालको रचनामा रहेको गीत ‘कति लाएँ मनमा मलम’ बाट गायिका मुना ठटालले दोस्रो र डी. पी. खनालकै रचनामा रहेको अर्को गीत ‘बन्द भो त्यो आवाज’ बाट गायक सरोज परियारले तेस्रो बिजेताको पुरस्कार हात पारे l गीतकार खनालले पनि देशव्यापी प्रतियोगितामा दुई उपाधी बिजेताका गीतकारको ऐतिहासिक र गौरवमय रेकर्ड बनाएका छन् l लामो समदेखि फरक फरक विधाका गीतमा उत्तिकै सफलताका साथ सङ्गीत र गायनको यात्रामा अग्र रफ्तारमा रहेका शंकर थापा ‘स्माइल’ यसअघि रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगिता २०६९ मा गायनतर्फ र २०७७ मा सङ्गीततर्फ प्रथम भएका थिए l