डेढ दर्जन गीतसँगै प्रज्ञा प्रतिष्ठानमा गुञ्जिए तुलसी पराजुली


क्यान्सर र मृगौला पीडितको सहयोगार्थ चर्चित गायक तुलसी पराजुलीले डेढ दर्जन गीतहरुसँगै एकल साँझ सम्पन्न गरेका छन् । स्वास्थ्य र सङ्गीतको संगम बनाउँदै गायक पराजुली डेढ दर्जन गीतहरुसँगै नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा एकल साँझमार्फत प्रस्तुत भएका हुन् ।

चौबिसे समाज धनकुटाका अध्यक्ष दुर्गा मादी देवानको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा समाजका उपाध्यक्ष कार्यक्रम संयोजक गायक प्रकाश आचार्यले उपस्थित सङ्गीतप्रेमी दर्शकहरुलाई स्वागत गरेका थिए । गायक तुलसी पराजुलीको बारेमा प्रतिष्ठित गीतकार, निर्देशक एवं कलाकार लय संग्रौलाले शब्दचित्र प्रस्तुत गरेका थिए । संग्रौलाले धनकुटा डाँडाबजारमा जन्मिएका तुलसी पराजुलीका बाल्यकालदेखि साङ्गीतिक यात्राको बारेमा प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्घाटन वरिष्ठ चिकित्सक एवं गीतकार भोला रिजाल र गायक पराजुलीकी ममतामयी माता टीकादेवी पराजुलीले संयुक्त रपमा पानसमा दीप बालेर गरेका थिए । उद्घाटन कार्यक्रममा गायक पराजुलीकी श्रीमती लुना सिटौला र छोरी एन्जोलिना पराजुलीको साथ रहेको थियो । कार्यक्रम उद्घाटन गरिसकेपछि बोल्दै प्रमुख अतिथि भोला रिजालले स्वास्थ्य क्षेत्रमा दुःख पाएका असहायहरुलाई एकल साँझ मार्फत रकम कलेक्सन गरेर सहयोग गर्ने उद्देश्य लिएकोमा तुलसी पराजुलीप्रति हार्दिक आभार प्रकट गरेका थिए ।

गायक पराजुलीलाई गायिकाहरु प्रविशा अधिकारी, दिपा सुहाङ र  खुशी थुलुङले गायनमा, यसैगरी कोरसमा अर्जुन आले मगर र उपेन लिम्बूले साथ दिएका थिए । वाद्यवादन समूहको संयोजक गायक तथा सङ्गीतकार अशोक राई रहेका थिए । वाद्यवादन समूहमा अकोडियनमा शीला बहादुर मोक्तान, सारङ्गीमा भरत नेपाली, तबलामा भरत बुढाथोकी, ऋदम गीतारमा दिपक थापा, बेस गीतारमा देव चाम्लिङ, सहनाइमा धनबहादुर गुरुङ, अक्टोप्याडमा शशी भूषण, मादलमा पोषण घर्ती र नरेश प्रजापति, ढोलकमा राम सुश्लीङ, भ्वाइलिन कोअर्डिनेटर र सेक्सोफोनमा मनोहर सुनाम, भ्वाइलिनमा रविन कार्की ढली, मोहनकृष्ण कार्की ढली, नारायणदास कार्की ढली, केशव सुनाम, विकासनाथ योगी, किशोर कार्की ढली, विनिता कार्की ढली, किबोर्डमा राहुल भुजेल र  बाँसरीमा गोपालदेव घतानी रहेका थिए ।

गायक पराजुलीले वीर पूर्खा राष्ट्रिय गीतबाट गायनको सुरुवात गरेका थिए । समारोहमा उनले हेर्दाहेर्दै बाटो हरायो, आधा माया, छोडेर जानेको मायाले मार्यो, लेकैमा चौंरी, लेकैमा फुल्यो, पाटनैको पातलो चिउरा, तमोर खोला बाढी आयो, पिरतीले जोगी बनायो, बैंशको सत्यनाश, दोमाना बजार, खोटाङ जिल्ला दिक्तेल बजार, अकाशैको कालो बादल, मुसुक्कै हाँस्ने, कान्छिको छाता लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।