तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक


तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करणका लागि आवेदन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य, कला, संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको तेस्रो संस्करणको अवार्डका लागि आवेदन आहृवान गरिएको थियो ।

आगामी वैशाख ९ गते शनिबार जमलमा रहेको होटल यल्लो पेगोडामा एक विशेष भव्य समारोहबीच उत्कृष्ट पाँचमध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने अवार्ड संयोजक गीता अधिकारीले बताउनुभयो । अवार्डमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र भाषाभाषीका गीतलाई समावेश गरिएको छ ।

अवार्ड समारोहमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याउनुभएका एकजना विशिष्ट व्यक्तिलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिनुका साथै गीत संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने संगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी गराउनुभयो । यसअघि ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ वरिष्ठ संगीतकार राजु सिंह र गुरुदेव कामदलार्ई प्रदान गरिएको थियो ।