सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितार कर्ड बुक’ लोकार्पण


गितारिस्ट एवम् गायक सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण गरिएको छ । ठमेलमा आयोजित एक विशेष समारोहबीच वरिष्ठ सङ्गीतकार किशोर गुरुङको प्रमुख आतिथ्यतामा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुस्तकका लेखक सुनिल गुरुङ, ज्योति घिमिरे, एम. शाही, गौरव शर्मा, ओम शाही, विक्रम थापालगायतले पुस्तकको लोकार्पण गरेका हुन् ।

यो पुस्तक गितार सिक्न चाहनेहरुका लागि एकदमै उपयोगी रहेको कार्यक्रममा उपस्थित अतिथिहरूले बताए । उनीहरूले गितार सिक्न चाहनेका लागि यस्तो खालको पुस्तक नेपाली पाठकमाझ नआएकाले यो धेरै उपयोगी हुने बिचार व्यक्त गरेका छन् ।

सुनिल गुरुङ पुरानो पुस्ताको गायक तथा गितारिस्ट हुन् । उनले सन् १९८२ मा स्ट्रिङ्ग्स ब्याण्ड खोलेका थिए । यो ब्याण्डमा उनीसँगै सुमन लामा, सुदेश देवान, निर्मल देवान, गौरव शर्मा र तिलक थापा मगर रहेका थिए । ब्याण्डले थुप्रै गीत-सङ्गीत बजारमा ल्याएको छ । ठमेलमा लाइभ म्युजिक गर्ने यो पहिलो ब्याण्ड पनि हो । यस ब्याण्डमा पछि वासु खड्का, सुनिल सिंह, प्रवीन श्रेष्ठ, सोनम श्रेष्ठ मात्र रहे भने अहिले सरोज शाहीले यसलाई अगाडि बढाईरहेका छन् । यसमा अहिले सरोजसँगै दीपक प्रधान, कुन्दन जोशी, शरण देउला र सौरभराज जोशी रहेका छन् । सुनिल यतिबेला बेलायत बस्दै आएका छन् । नेपाल आएको छोटो समयमा ब्याण्डका साथीहरुसँग भेटघाट र पुस्तक प्रकाशन गरेको उनले बताए । पुस्तक समारोहमा उनका पुराना साथीभाइ र गीत-सङ्गीत क्षेत्रका व्यक्तित्वका साथै सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

SUBSCRIBE 👉