जापानमा बस्ने नेपालीहरुको फुटबल क्रेज                

-प्रकाश सुवेदी (जापानबाट)

जापनको फुकुओका प्रिफेक्चरको कोकुरा भन्ने ठाउँमा रहेको हिगारी फिटनेस फुटसलमा फुकुओका आसपास बस्ने १७ नेपाली  टिमबिच फुटबल प्रतियोगिता सम्पन्न भएको छ । वाजिरो फुटबल क्लबलाई २ का विरुद्ध ३ गोलले पराजित गरेर प्रथम  हुन सफल युनाइटेड फुटबल प्क्लबले जापानी यान २ लाख ५० हजार  र द्वितीय हुने वाजिरो फुटबल क्लबले १ लाख २५ हजार हात पारेका छन् l यसैगरी खेलमा सबैभन्दा अनिशासित ठहरिएको टिम ओआसी फुटबल क्लबले प्रोत्साहन स्वरूप ट्रफी  र हरेक सहभागी टिमले प्रमाणपत्र हात पारेका छन् । धाँधली र होहल्ला रहित सो खेलमा रेफ्रीको भूमिका निर्मल गुरुङले निभाएका थिए । 

विगत ११ वर्षदेखि जापानमा नमस्ते फुड्सका सञ्चालकको रूपमा कार्यरत विपिन कँडेल प्रमुख अतिथि रहेको सो प्रतिस्पर्धाको आयोजना सोर्टेड गोरखा फुटबल क्लबले गरेको थियो । सञ्जय शर्मा, विजय राई र सुजन राई लगायतका साथीहरुको विशेष सक्रियतामा सम्पन्न सो कार्यक्रमको व्यवस्थापकीय पाटो भने नमस्ते फुड्सका प्रबन्धक नवीन जिसी, र सञ्जय शर्माले सम्हालेका थिए । पञ्चासे इन्डियन रेष्टुरेण्ट र साइराम इण्डियन रेष्टुरेण्ट प्रायोजकको रूपमा रहेको सो कार्यक्रमको मुख्य प्रयोजक पनि नमस्ते फुड्स् नै रहेको थियो । 

स्वदेशमा भन्दा विदेशमा संस्कृति, मनोरञ्जन र खेलकुद सम्बन्धी कार्यक्रमहरु धेरै हुने गरेका छन् । जापानको कुनै पनि टोल या शहर छैन होला जहाँ नेपाली समुदाय नहोस् । यहाँ हरेक हप्ता साँस्कृतिक कार्यक्रम, नेपाली चलचित्र प्रदर्शन, खेलकुद  प्रतिस्पर्धा लगायतका कार्यक्रमहरु चलिरहन्छन् । फुटबल, भलिबल र क्रिकेट जस्ता खेलहरुमा आफ्नै देशमा खासै भविष्य नदेखेर कि त पढ्न कि त रोजगारीकै सिलसिलामा जापान आएका युवाहरु यहाँ आएर पनि आफ्नो खेलप्रतिको नशालाई त्याग्न सक्दैनन् र विभिन्न किसिमका ग्रुपहरु बनाएर खेल खेल्ने गर्दछन् । जापानभरि साना ठूला गरेर २०० भन्दा बढि फुटबल टिम होलान् । यो संख्या भलिबल र क्रिकेटमा पनि यस्तै छ ।                

विजयी टिमहरुलाई पुरस्कार र सहभागी टिमहरुलाई प्रमाणपत्र प्रदान गरे पश्चात आफ्ना भनाईहरु राख्दै कार्यक्रमका प्रमुख अतिथि कँडेलले भने- ‘विदेशमा रहेर पनि विभिन्न रजनीतिक दलप्रतिको आस्थका आधारमा गुट र उपगुटभित्र रुमलिईरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुबीच यस्ता किसिमका कार्यक्रमले एकता, देशप्रेम, खेल र खेलाडीप्रति सम्मान गर्न प्रेरित गर्दछ l’