-तुलसी गिरी ‘भावुक’
गीतकार सङ्घ नेपालको आयोजनामा गीतकार टीका भट्टराई नेपालको गीतसङ्ग्रह ‘अनुभूतिका स्वरहरु’ लोकार्पण भएको छ । शुक्रबार बिजुलीबजारस्थित सङ्घको सभाहलमा आयोजित एक विशेष समारोहकाबीच सो गीतसङ्ग्रह लोकार्पण गरिएको हो । सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाको सभापतित्वमा सम्पन्न सो सामारोहका प्रमुख अतिथि वरिष्ठ गीतकार एवं साहित्यकार डा. कृष्णहरि बराल र विशिष्ट अतिथिहरु गायिका ज्ञानु राणा, गीतकार सङ्घका अध्यक्ष वसन्त बित्यासी थापा, सङ्घका पूर्व अध्यक्ष चूडामणि देवकोटा, वरिष्ठ चलचित्र कलाकार लय सङ्ग्रौला, किरण के.सी., उत्तम के.सी. लगायतयले संयुक्त रुपमा कृतिको लोकार्पण गरेका हुन् ।
![](https://emusicdiary.com/wp-content/uploads/2023/03/336615162_157412570221684_8775707514300752676_n.jpg)
कार्यक्रमका प्रमुख अतिथि डा.कृष्णहरि बरालले पछिल्लो समय गीतहरु पाठ्यक्रमका रुपमा पाठकमाझ आउन थालेकोमा खुसी व्यक्त गरे । उनले समारोहमा गीतसङ्ग्रहको चर्चा गर्दै गीतले सबैथरि भावलाई समेटेको बताए । डा. बरालले गीतकार नेपाललाई अझै गीतहरु लेख्न सुझाव दिएका थिए । सङ्घका अध्यक्ष एवं समारोहका सभापति वसन्त बित्यासी थापाले पनि गीतकार नेपाललाई सशक्त गीतकारको रूपमा आफूले पाएको बताए । उनले गीतकार नेपालको गीतसङ्ग्रह गीतकार सङ्घकै कार्यालयमा लोकार्पण गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । यसैगरी समारोहमा विशिष्ट अतिथिहरुले पनि गीतकार र लोकार्पित गीतको बारेमा आ-आफ्ना भनाईहरु राखेका थिए l समारोहमा कृतिको समीक्षा रामबाबु श्रेष्ठले गरेका थिए भने श्रष्टा परिचय अच्युत घिमिरेले दिएका थिए । अरनिको छापाखानाद्वारा प्रकाशित १४० पृष्ठको यो गीतसङ्ग्रहमा १ सय २५ गीत सङ्ग्रहित छन् ।
कनकाई न.पा.-३, सुरुङ्गा, झापाकी स्थायी बासिन्दा सर्जक टीकाका यसअघि २०५६ मा आमाको माया (शोक काव्य), २०७६ मा तस्बीर तिम्रो (गीति एल्बम), २०७७ मा प्रीतिपुष्प (गीतसङ्ग्रह) र प्रीति (गीति एल्बम), २०७८ मा मनका रङ्गहरु (गीतसङ्ग्रह) र गीत (सन्तानको माया) बजारमा आईसकेका छन् l टिकाले २०७८ सालमा गीतकार सङ्घ नेपालबाट वर्ष पुस्तक पुरस्कार समेत प्राप्त गरेकी थिईन् l
![](https://emusicdiary.com/wp-content/uploads/2022/03/kumar-rana-maruni-digital.jpg)