क्वालिटी फिल्म्सले ‘राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड’ को आयोजना गर्ने

-तुलसी गिरी ‘भावुक’

क्वालिटी फिल्म्सको आयोजनामा राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड २०८० हुने भएको छ l आयोजक संस्थाका प्रवन्ध निर्देशक एवं अवार्ड समितिका अध्यक्ष उमेश गुरुङले गत मङ्गलबारबाट नै अवार्डका लागि फारम खुला गरिएको जानकारी गराएका छन् l अध्यक्ष गुरुङका अनुसार गीत-सङ्गीत तथा चलचित्र दुबैतर्फ नेवारी, तामाङ, गुरुङ, मगर, थकाली, थारु, दुरा, राई/सुनुवार, मैथिली, लिम्बू, भोजपुरी, अवधी लगायतका आदिबासी-जनजातिहरुले आफ्नो मातृभाषामा रेकर्ड भएका गीत-सङ्गीतबाट र उल्लेखित भाषामा निर्माण भएका चलचित्रबाट आ-आफ्नो विधामा फारम भर्न सक्ने छन् l

प्राप्त जानकारी अनुसार गीत-सङ्गीततर्फ गीत, गायक, गायिका, नव गायक/गायिका, गीतकार, सङ्गीत संयोजक, सङ्गीतकार, म्युजिक भिडिओ निर्देशक, नव मोडल पुरुष/महिला, छायाकार, सम्पादक, शृङ्गार, भेषभूषा, मिक्सिङ र वाद्यवादन गरी १५ विधा एवं चलचित्रतर्फ फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, चरित्र अभिनेता, चरित्र अभिनेत्री, खलनायक, सङ्गीत संयोजक, सङ्गीतकार, गीतकार, गायक/गायिका, छायाकार, सम्पादक, पार्श्व सङ्गीतकार, शृङ्गार, भेषभूषा, रङ्ग सम्पादक गरी १७ विधाका सर्जक, कलाकार र प्राविधिकहरुले अवार्ड प्रतिस्पर्धाका लागि फारम भर्न सक्ने छन् l फारम शुल्क प्रति विधा रू. १ हजार तोकोएको छ भने २०७८ बैशाख १ देखि २०७९ चैत मसान्तसम्म प्रकाशित गीत-सङ्गीत तथा चलचित्रसँग सम्बन्धित सर्जक, कलाकार र प्राविधिकहरुले सहभागिता जनाउन सक्ने छन् l गायक गायिकाको हकमा भने म्युजिक भिडिओ अनिबार्य गरिएको छैन l यसअघि क्वालिटी फिल्म्सले पहिलो र दोस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड सम्पन्न गरिसकेको छ l