रामेछापको मन्थलीमा ‘बागमती सांस्कृतिक सम्मिलन – २०७९’ को आयोजना हुने

-प्रकाश बराईली ‘अभिव्यक्ति’

राष्ट्रिय जन साँस्कृतिक महासङ्घ नेपाल, बागमती प्रदेश समितिको आयोजनामा बागमती साँस्कृतिक सम्मिलन – २०७९ हुने भएको छ । कार्यक्रम चैत्र १२ देखि १४ गते सम्म रामेछापको मन्थलीमा आयोजना हुने कुरा थाहा भएको छ l चैत्र ८ गते रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी यस बिषयमा जानकारी गराईएको हो ।

पत्रकार सम्मेलनमा बागमती प्रदेश समितिका अध्यक्ष होमराज श्रेष्ठको अध्यक्षता रहेको थियो । बागमती प्रदेश भित्रका विभिन्न जातजाति सहित समग्र लोककला, संस्कृति र सृजनात्मक कला संस्कृतिको खोज, अन्वेषण, कार्यपत्र प्रस्तुति, कला प्रस्तुति सहित कार्यक्रम सम्पन्न गरिने कुरा आयोजकले  जानकारी गराएका छन् । पत्रकार सम्मेलनमा अमृत खातीले कार्यक्रम सञ्चालन गरेका थिए ।

बागमती प्रदेश भित्रका लोक संस्कृति र कलाहरुको पहिचान गर्नु, बागमती प्रदेश भित्रका साहित्य लेखनका प्रवृत्तिहरु पहिल्याउनु, बागमती प्रदेश भित्रका स्थापत्यकला, चित्रकला, मुर्तीकला, सङ्गीतकला र प्रदर्शन कलाको प्रदर्शनका साथै मूल प्रवृत्तिहरु पहिचान गर्नु, बागमती प्रदेशभित्र रहेका साँस्कृतिक एवं अन्य सम्पदाहरुको पहिचानका साथै तिनको पर्यटन प्रवर्धनसँग सम्बन्धित बिमर्शबाट नीति निर्माणमा सहयोग गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कुरा आयोजकले बताएका छन् ।

पुष्पलाल र गंगालाल श्रेष्ठले शाहदत प्राप्त गरी शहीद भएको स्थल भएको कारणले बागमती साँस्कृतिक सम्मिलन २०७९ रामेछापको मन्थलीमा आयोजना गर्न लागिएको कुरा बागमती प्रदेश समितिका अध्यक्ष होमराज श्रेष्ठले बताएका छन् । साथै कार्यक्रमस्थलमा चिरायु नेशनल हस्पिटलले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालान गर्दै नि:शुल्क औषधि समेत वितरण गर्ने कुरा जानकारीमा आएको छ ।