लाखौँ नेपाली युवाको कथा ‘फर्किँदैछु म परदेशी’


गीतकार प्रकाश सुवेदीको शब्द सृजना र मेलोडी सुल्तानको नामले प्रसिद्धि कमाएका गायक शिशिर योगीको सङ्गीत र स्वर रहेको गीत फर्किँदैछु म परदेशी को लिरिकल भिडिओ सार्वजनिक भएको छ । यही चैत्र ३ गते सृजना र सेरोफेरो नामक युट्युव च्यानलबाट भिडिओ बजारमा आएको हो l आफ्ना हरेक गीतमा एक किसिमको कथा बुन्न माहिर प्रकाशले  प्रस्तुत  गीतमा मध्यमबर्गीय परिवारमा जन्मिएर थप समृद्धिको लागि विदेशिएको  एकजना मध्यम खालकै कमाई भएको पात्र उभ्याएका छन् । कतिपय नेपालीहरु रहरले त कतिपय कहरले विदेशिएका हुन्छन् । तथापि प्रस्तुत गीतमा उभ्याउन खोजिएको पात्र न त रहरले न त कहरले विदेशिएको परिकल्पना भएको कुरा गीतकार सुवेदीले बताएका छन् ।

गीत सुन्दा ऊ परिवारमा थप समृद्धिको ईंटा थप्न परदेशिएको भान हुन्छ । कमाई राम्रै भएपनि असीमित आवश्यकता पूरा गर्न नसक्नु हरेक परदेशीको विवशता हो । भाइले भनेको मोवाइल, दिदीले भनेको राम्रो सारी, बहिनीको स्कुटर चढेर कलेज जाने चाहना र आफ्नै एकतले घरलाई  २ तले बनाउने लगायातका सबै रहर पूरा गर्न मन छ उसलाई । विदेशमा मध्यम खालको कमाई भएका कारण यी सबै खालका मागहरु एकैपटक पूरा गर्ने सामर्थ्य उसमा हुँदैन । सबैका रहर पूरा गर्ने क्रममा आफ्नै रहरलाई तिलाञ्जली दिनुपर्ने बाध्यता हरेक परदेशीमा हुन्छ l तर ऊ यसलाई बाध्यता भन्दा पनि आफ्नो जिम्मेवारी र कर्तव्य सम्झन्छ । 

प्रस्तुत गीतमा गीतकार प्रकाशले `बा´ प्रति अलि बढी झुकाव देखाएका छन् । नेपाली समाजमा `बा´ भनेको घरको पूरै भार थेग्ने पिलर हो l पिलरको काम भार थेग्ने हो, न कि भार थप्ने । आफैँले ऋणधन गरेर विदेश पठाएको सन्तानसँग बाले कहिल्यै केही माग र अपेक्षा राख्नुहुन्न l राख्नुहुन्छ त केवल उसको कुशलता र आगमन । हामी नेपाली समाजका ‘बा’ यस्ता ‘बा’ हुन् जति रहर भएपनि सन्तानलाई भन्दैनन् । आफूले थोत्रै आस्कोट लगाएर भएपनि सन्तानको आङमा चिल्लो कोट देख्ने रहर हरेक बालाई हुन्छ । छोरीको कमाई त छुन समेत हुँदैन पाप लाग्छ भन्ने संस्कारमा हुर्केका `बा´ हरु छोरालाई समेत बाबू यस्तो पठाइदे भन्न सक्दैनन् । भन्छन् त केवल तिमी सञ्चै आऊ, पुग्छ । चाहे कमाएर घर आएको छोरा होस् चाहे क्याम्पस छुट्टी भएर शहरबाट घर आएको छोरा । कामउने होस् या नकमाउने, फर्किने बेलामा बाको एउटै प्रश्न हुन्छ ‘बाबू तिमीसँग बाटा खर्च त छ ?’ यो प्रश्न हरेक जिम्मेवार बाले आफ्ना सन्तानलाई गर्ने प्रतिनिधिमूलक प्रश्न हो । 

परदेशीलाई बाबुआमाको काख, श्रीमतीको साथ अनि आफन्त र साथीभाइको मायाको सामीप्यता र अभाव सधैँ खड्किएको हुन्छ यस गीतको सङ्गीत संयोजन साहस शाक्यले, ध्वनि सम्पादन साजन शाहले र लिरिकल भिडिओ सम्पादन वीरेन्द्र भाट ‘विपिन’ ले गरेका हुन् । 

सम्झिएर बालबच्चा, घर, खेतबारी 
फर्किँदैछु म परदेशी बिसाई काँधको भारी 

भाइ भन्छ राम्रो मोवाइल दिदी सारी भन्छिन् 
श्रीमतीले कहिले आउँछौ भन्दै औंला गन्छिन् 
बहिनीलाई क्याम्पस जान खाँचो स्कुटरको 
मलाई भने रहर थियो तला थप्न घरको 

कर्तब्य नि यही मेरो  यही जिम्मेवारी 
फर्किँदैछु म परदेशी बिसाई काँधको भारी 
बुझेको छु बाका पनि होलान् रहरहरु 
भन्नुहुन्छ सञ्चै आइज चाहिन्न केही अरु 
यसपाली त बालाई पनि राम्रै कोट किन्छु 
उनकै हातमा सँगालेको कमाई सुम्पिदिन्छु 

बन्न सकुँ आमा तिम्रो सधैं आज्ञाकारी 
फर्किँदैछु म परदेशी बिसाई काँधको भारी