कलाकार सङ्घको अध्यक्षमा मोहन निरौलाको शानदार जीत, लगभग प्यानल नै विजयी

 -तुलसी गिरी ‘भावुक’

नेपाल चलचित्र कलाकार सङ्घको १९ औं साधारण सभाले मोहन निरौलालाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । वरिष्ठ चलचित्र लेखक, निर्देशक तथा कलाकार निरौलाले लगभग आफ्नो प्यानल सहित शानदार जित हासिल गरेका छन् l शनिबार सम्पन्न १९ औँ साधारणसभामा उनी खसेको कुल ४ सय ६८ मत मध्ये २ सय ३५ मत पाएर प्रतिस्पर्धी रेजिना उप्रेतीलाई २६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । रेजिनाले २ सय ९ मत प्राप्त गरेकी थिईन् l सङ्घका संस्थापक सदस्य समेत रहेका निरौलाले विगतमा ४ कार्यकाल महासचिव र ३ कार्यकाल उपाध्यक्षको जिम्मेवारी पूरा गरिसकेका छन् l

निर्वाचित भए लगत्तै आफ्ना कुरा राख्दै चुनाव अघि सार्वजनिक गरिएका अधिकांश प्रतिवद्धता एवं कार्ययोजनाहरु पूरा गर्ने लक्षका साथ अघि बढ्ने कुरा अध्यक्ष निरौलाले बताएका छन् l ‘आगामी दिनमा पेसागत सुरक्षालाई विशेष प्राथमिकतामा राख्दै चलचित्र कलाकारहरुले महसुस गर्नेगरी काम गर्ने छु’ निरौलाले भने l  

सङ्घको नयाँ कार्यकालका लागि कविता गेलाल १ सय ५१ मत र शिवहरि नेपाल ‘वैरागी’ १ सय ४० मत पाएर उपाध्यक्षमा निर्वाचित भएका छन् l सविन श्रेष्ठ १ सय १२ मत प्राप्त गरेर महासचिवमा विजयी भए । यसैगरी सचिवमा रामेश्वर बुर्लाकोटीले २ सय २३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले २ सय ६० मत प्राप्त गरी विजयी भए भने सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध भइन् ।

सदस्यहरु मध्येमा शीतल के.सी. सर्वाधिक ३ सय २ मत ल्याएर विजयी भएका छन् । अन्य सदस्यमा गोपाल ढकाल ‘छन्दे’ २ सय ८७, उद्धवप्रसाद भट्टराई २ सय ११, पवन के.सी. २ सय २, नम्रता खरेल १ सय ८७, पुकार भट्टराई १ सय ८२, खुश्बु खड्का १ सय ७७, सरिता राजोपाध्याय १ सय ४६, रोशन श्रेष्ठ १ सय ३५  र समीर लामा १ सय ३३ मत प्राप्त गरेर विजयी एका छन् । लगभग ७ सय सदस्य रहेको सङ्घको निर्वाचनमा ४ सय ६८ मत मात्र खसेको थियो ।