मोहन निरौलाद्वारा प्यानल सहित उम्मेद्वारी घोषणा

-तुलसी गिरी ‘भावुक’

वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाले नेपाल चलचित्र कलाकार सङ्घको नयाँ कार्यसमितिका लागि अध्यक्षमा आफ्नो उम्मेद्वारीको घोषणा सहित प्यानल सार्वजनिक गरेका छन् । बिहीबार राजधानीमा उम्मेद्वारी घोषणा तथा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी बहुआयामिक चलचित्रकर्मी निरौलाले उम्मेद्वारी सार्वजनिक गरेका हुन् l यही चैत ४ गते शुक्रबार सम्पन्न हुने सङ्घको १९ औं साधारण सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्वको चयन गर्दैछ l

सार्वजनिक गरिएको घोषणापत्र अनुसार निरौलाको प्यानलबाट उपाध्यक्षमा धन बहादुर बम्जन (डीबी) र कविता गेलाल, महासचिवमा सविन श्रेष्ठ,  सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल र सह–कोषाध्यक्षमा पवित्रा आचार्य (निर्विरोध) चुनावी मैदानमा उत्रने छन् भने सदस्यहरूमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल ‘छन्दे’, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामाले विपक्षीहरुसँग जितको लागि प्रतिस्पर्धा गर्ने छन् l   
बुधबार कलाकार रेजिना उप्रेतीले पनि एक कार्यक्रमको आयोजना गरी अध्यक्षको दावी सहित आफ्नो प्यानल सार्वजनिक गरेकी थिईन् l

 सर्जक / कलाकार निरौलाले सार्वजनिक गरेको प्रतिवद्धता र कार्ययोजनापत्रमा संगठन सुध्रिणीकरण, पेशाको गरिमा, पेशागत सुरक्षाको प्रत्याभूति, पुरस्कार तथा सम्मान कार्यक्रमहरुको निरन्तरता, कल्याणकारी कोशको रकम वृद्धिका लागि पहल र कार्यविधि निर्माण, आर्थिक पारदर्शिता, नवनिर्मित भवन र कार्यालयको व्यवस्थापन, स्वास्थ्य बिमा, दुर्घटना बिमा, फान अवार्डको निरन्तरता, अशक्त, असाहय र बृद्ध कलाकारका लागि आर्थिक, नैतिक र भौतिक सहयोग, पारिश्रमिकको सुनिश्चितता, न्यायिक समितिको गठन आदि विषयहरुमा पहल गरिने कुरा उल्लेख गरिएको छ l  

२०३५ सालमा रङ्गमञ्चबाट कलायात्रा सुरु गरेका मोहन निरौलाले २०४० सालमा ‘आर्दश नारी’ बाट औपचारिक रुपमा चलचित्रको अभिनय यात्रा आरम्भ गरेका थिए l हालसम्म पनि लेखन, निर्देशन र अभिनयमा निरन्तर क्रियाशील रहेका निरौलाले त्यसपछि ‘बेहुली’, ‘तिरहरी’, ‘स्वर्ग’, ‘नाता’, ‘आशिर्वाद’, ‘जन्म मत्यु’, ‘अजम्बरी नाता’, ‘रावण’, ‘अलविदा’ लगायत सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।

निरौलाको उम्मेद्वारी घोषणा तथा पत्रकार सम्मेलनमा सङ्घका वर्तमान अध्यक्ष रविन्द्र खड्का, प्रथम नायिका भुवन चन्द, प्रथम रङ्गीन चलचित्रकी नायिका चैत्यदेवी, वरिष्ठ हास्य कलाकार बसुन्धरा भुसाल तथा वरिष्ठ कलाकर्मीहरु शिव श्रेष्ठ, अर्जुनजंग शाही, पुरण जोशी, लक्ष्मी गिरी, नवल खड्का, सानु ताम्राकार, राजकुमार राई, छवि ओझा, राजेन्द्र खड्गी लगायतको उपस्थिति रहेको थियो l समारोहमा आफ्ना भनाईहरु राख्दै पुन: अध्यक्षको उम्मेद्वारी स्थगित गरेका वर्तमान अध्यक्ष रविन्द्र खड्काले मोहन निरौलाले संस्थाको नेत्तृत्व गर्ने चाहना राख्नुभएकोले नै आफू प्रस्तिस्पर्धाबाट पछि हटेको कुरा बताएका थिए l सङ्घमा वर्तमान उपाध्यक्ष समेत रहेका निरौलाको अतुलनीय योगदान रहेको कुरा स्मरण गर्दै अध्यक्ष खड्काले सही नेत्तृत्वको चयन गर्न सम्पूर्ण मतदाता कलाकारहरुलाई आग्रह समेत गरेका छन् l