म्युजिक खबर म्युजिक अवार्डका उत्कृष्ट ५ को मनोनयन सार्वजनिक l सर्जक, कलाकार र पत्रकारहरु सम्मानित  


दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको उत्कृष्ट पाँचभित्र पर्न सफल सर्जक, कलाकार, प्राविधिक एवं सिर्जनालाई  मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । शनिबार हात्तीसारस्थित नेपाल हाउसको सभाहलमा आयोजित कार्यक्रममा गीत-सङ्गीत क्षेत्रका विभिन्न ४० विधाका सर्जक, कलाकार, प्राविधिक एवं सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रम पूर्व उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यता एवं अवार्ड समितिका अध्यक्ष मिलन मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय राजेन्द्र लिङ्देनले म्यूजिक खबरको दशवर्षे यात्राले कलासंस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान दिएको बताउँदै राजनीतिले देशको नीति बनाइरहँदा कलाक्षेत्रलाई एकै ठाउँमा जोड्दै आर्थिक समृद्धिमा समेत महत्वपूर्ण भूमिका खेल्न म्यूजिक खबर अगाडि बढेकोमा शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै शुभकामना मन्तव्य दिँदै अवार्ड समितिका अध्यक्ष सुमन बैरागीले दशवर्षे यात्रामा भोगिएको आरोह अवरोह विर्संदै कलाकारको सम्मान र प्रोत्साहनमा समर्पित हुने अवसर मिलेकोमा म्यूजिक खबर परिवारले गर्व महसुस गरेको बताए ।
उनले अवार्ड कार्यक्रमलाई कसरी हुन्छ निष्पक्ष र सम्मानयोग्य बनाउन क्रियाशील रहेको बताउँदै अवार्डको गरिमालाई सदैव कायम राख्दै अगाडि बढ्न म्यूजिक खबरले कलाकारहरुसँग हातेमालो गरिरहने बताए ।

कार्यक्रममा गीतकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, महासचिव शिव राई, नेपाल सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्य बहादुर मगर, तमु कलाकार सङ्घकी अध्यक्ष शर्मिला गुरुङ, राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष विक्रम जंग शाह, महासचिव अमृत खाती, गोरखा सांस्कृतिक समाजका महासचिव रविन लामिछाने, कार्यक्रमका सल्लाहकार राधेश्याम लेकाली, वरिष्ठ गायक प्रेमराजा महत, सङ्गीतकार गणेश पराजुली, सङ्गीतकार सन्तोष श्रेष्ठ लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

यसैगरी सर्जक/कलाकारतर्फ शिव परियार, युवराज चौंलागाई, प्रकाश तिमिल्सिना, सरोज कोइराला, मौसम गुरुङ, रञ्जित परियार, बालकुमार श्रेष्ठ, बादल घिमिरे, ईश्वर सिंह, कालिका रोका, अन्जु श्रेष्ठ, ऋतु कँडेल, दीपकराज विश्वकर्मा, अनिर मास्के, योगेश काजी शाह, चिरञ्जीवी भण्डारी, समीक्षा क्षेत्री, जीबी चिरन, रमेश थापा, निक्स शर्मा, अनु पराजुली, रविना भण्डारी लगायत दर्जनौंको उपस्थिति रहेको थियो ।

कार्यक्रममा साहित्य, कलासँग जोडिएका सञ्चारकर्मी, साहित्यकार र कलाकारलाई पनि सम्मान गरिएको थियो । म्यूजिक खबर साहित्य सम्मानबाट साहित्यकार मालिका केशरी, म्यूजिक खबर कला सम्मानबाट चित्रकार सुमिना श्रेष्ठ, म्यूजिक खबर विशेष पत्रकारिता सम्मानबाट नेमिष गौतम र राजु बोहरा, म्यूजिक खबर पत्रकारिता सम्मानबाट पत्रकार एलिना खनाल, अरविन्द्र गौतम र प्रकाश बराइलीलाई सम्मान गरिएको थियो ।

समारोहमा अवार्ड कार्यक्रममा सम्मान गरिने विभिन्न स्रष्टाहरुको पनि नाम घोषणा गरिएको थियो । जस अनुसार म्यूजिक खबर दीर्घ साधना सम्मानबाट अग्रज गायिका तीर्थ कुमारी थापालाई सम्मान गरिने भएको छ भने दशकको सम्मानबाट गायक भोजराज काफ्ले र गायिका निशा देशारलाई सम्मान गरिने छ । त्यस्तै म्यूजिक खबर युवा प्रतिभा पुरस्कारबाट गायिका मनिषा पोखरेललाई र म्यूजिक खबर डायस्पोरा सङ्गीत सम्मानबाट वरिष्ठ गायक प्रेमराजा महतलाई सम्मान गरिने भएको छ । यसैगरी म्यूजिक खबर सङ्गीत सम्मानबाट गीतकारद्वय राम अविरल र रामचन्द्र ढकाललाई र म्यूजिक खबर बालप्रतिभा सम्मानबाट गायिका आयुषा गौतमलाई, म्यूजिक खबर पत्रकारिता सम्मानबाट पत्रकार सानुकाजी श्रेष्ठ र चन्द्रमणि गौतमलाई सम्मान गरिने भएको छ । कार्यक्रम सरोज कोइरालाले सञ्चालन गरेका थिए भने गायिका मन्जु पौडेलले गीत प्रस्तुत गरेकी थिइन् ।