डा. उपाध्यायलाई ‘दीर्घ साधना’ र पत्रकार बराईलीलाई ‘दशक पत्रकारिता सम्मान’  

-तुलसी गिरी ‘भावुक’

विश्व कीर्तिमानी गीतकार डा. डी. आर. उपाध्याय खनाल नगद रू. ५१ हजार १ सय ११ सहित दीर्घ साधना सम्मानबाट सम्मानित भएका छन् l हालै चाबहिल स्थित चलचित्र बिकाश बोर्डमा आयोजित तेस्रो नाट्यश्वर म्युजिक अवार्ड – २०७९ को अवसरमा डा. उपाध्यायलाई दोसल्ला, फूलमाला र सम्मानपत्र सहित सो सम्मान अर्पण गरिएको हो l समारोह प्रल्हाद केसीको अध्यक्षता र नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

समारोहमा विशेष कला सम्मानद्वारा ईन्द्रणीका सञ्चालक कृष्ण कँडेल र दशक पत्रकारिता सम्मान द्वारा सञ्चारकर्मी प्रकाश बराईली ‘अभिब्यक्ति’ लाई सम्मान गरिएको थियो । यसैगरी लोकदोहोरी गायक ईन्द्र जिसी, सागर गुरुङ, प्रदिप कार्की, शिखर श्रेष्ठ, विष्णु तरुके, पुष्पा शर्मा, कला पत्रकार बिजयरत्न तुलाधर, बबिता श्रेष्ठ, नायिका तथा मोडल सबिना कार्की, गायक अलिफ खान, पत्रकार बर्षा खनाल लगायतका ब्यक्तिहरु पनि सम्मानित भएका छन् । अवार्ड समारोहमा गीत-सङ्गीत क्षेत्रका विभिन्न ६४ विधाका सर्जक, कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गरिएको थियो l

‘नाट्यश्वर भगवान हामी सबै कलाकारको शान, कलाकार र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो अवार्डका लागि २०७७ असारदेखि ०७९ असार मसान्तसम्मका गीतबाट आवेदन माग गरिएको कुरा कार्यक्रम निर्देशक किरण अधिकारीले बताएका छन् ।