जुजुकाजीले लाइभ गाउँदै सार्वजनिक गरे गीति एल्बम ‘मतिनाया गल्ली’ ( प्रेम गल्ली )

-तुलसी गिरी ‘भावुक’

जुजुकाजी रञ्‍जितको स्वरमा रहेको नेपाल भाषाको एल्बम ‘मतिनाया गल्ली’ ( प्रेम गल्ली ) को लोकार्पण भएको छ l प्रतिष्ठित गीतकार एवं जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा रशियन सदनका निर्देशक आन्तोन मास्लोभको विशेष आतिथ्यतामा केहीदिन अघि कमलपोखरीस्थित रशियन सदनमा आयोजित एक विशेष समारोहमा सो गीति एल्बमको लोकार्पण गरिएको हो l

एल्बममा नेपाल भाषाका ८ वटा गीत रहेका छन् l एल्बमका सबै गीत जनकवि दुर्गालाल श्रेष्ठले रचना गरेका हुन् भने मनराजा नकर्मी र जुगल डंगोलले ४-४ वटा गीतमा सङ्गीत दिएका छन् l एल्बमका २ वटा युगल गीतमा जुजुलाई रत्नशोभा महर्जन र निसा देसारले स्वरमा साथ दिएका छन् l समारोहमा जुजुकाजीले सार्वजनिक भएको एल्बमबाट ३ वटा र एउटा रशियन भाषाको गीतको समेत लाइभ प्रस्तुति दिएका थिए l

नेपाल भाषा र नेपाली भाषा दुबैमा उत्तिकै लोकप्रिय रहेका गायक जुजुकाजीले चलचित्र, आधुनिक, भजन, लोक, राष्ट्रिय आदि गरी हालसम्म करिव ४ सय भन्दा बढी गीतमा स्वर दिएको कुरा बताएका छन् l आफ्ना धेरैजसो गीत फुटकर रुपमा र सङ्ग्रहित एल्बमहरुमा प्रकाशित भएको बताउने जुजुकाजीको ‘मतिनाया गल्ली’ एकल स्वरको चौथो एल्बम हो l यसअघि उनका नेपाली भाषाका दुईवटा र नेपाल भाषाको एउटा गरी ३ वटा एल्बम प्रकाशन भएका छन् l प्रीति अमर छ, थाहै नभई तिमी आई, उठाऊ माटो लगाऊ टिको, किन आँखा छोपेकी (चलचित्र भुमरी ), न आँखा हुन्थ्यो न माया हुन्थ्यो ( चलचित्र भुमरी ) आदि उनका सर्वाधिक लोकप्रिय गीत हुन् l उनले भुमरीका अतिरिक्त सिलु (नेपाल भाषा), रक्षा, सुन्दरी आदि चलचित्रमा पनि स्वर दिएका छन् l

२०२२ सालमा रेडियो नेपालबाट स्वर परिक्षा उत्तिर्ण गरे लगत्तै सोही वर्ष उनले पहिलो गीत ‘अलि छिटो हिँड न साथी’ रेकर्ड गरी सङ्गीतको औपचारिक यात्रा सुरु गरेका थिए l जसमा गुरु सुरेशमान श्रेष्ठको सङ्गीत थियो भने गीतमा सत्यनारायण राजभण्डारी र उनको संयुक्त स्वर रहेको थियो l उनको पहिलो एल्बम भने २०४२ सालमा रत्न रेकर्डिङ् संस्थानले प्रकाशन गरेको थियो l डिस्क रेकर्डमा निस्किएको सो एल्बमको नाम ‘जुजुकाजी रञ्‍जितका आधुनिक गीतहरु’ राखिएको थियो l प्रतिष्ठित श्रेणीका गायक जुजुकाजी २०४० सालमा रेडियो नेपालद्वारा आयोजित लोकगीत सम्मेलनमा प्रथम भएका थिए भने २०४२ सालमा रत्न रेकर्डिङ् संस्थानद्वारा आयोजित ‘प्रतिभाको खोजी’ नामक प्रतियोगितामा दोस्रो विजेता बनेका थिए l उनी २०४२ सालमा रेडियो नेपालकै आयोजनामा सम्पन्न शास्त्रीय गायनमा पनि पुरस्कृत भएका थिए l यसका अलावा विभिन्न समयमा अनेक पुरस्कार र सम्मानहरुबाट सम्मानित जुजुकाजी सुरेशमान श्रेष्ठ र पण्डित रङ्गराव कादम्बरीका एक होनहार चेला हुन् l

धेरैलाई थाहा नहुन सक्छ, जन्मस्थान मजिपाट, काठमाण्डौ-२० भई हाल छाउनी बसोबास गरिरहेका जुजुकाजी ३८ वर्ष अघि रसियाबाट मेकानिकल इन्जिनियरिङ पढेर स्वदेश फर्किएका थिए l उनले राष्ट्रिय गौरवका धेरै जलविद्युत आयोजनाहरुमा आफ्नो अमूल्य योगदान दिएका छन् l तत्कालिन समयको नेपालकै सबैभन्दा ठूलो ‘कालिगण्डकी ए जलविद्युत आयोजना’ मा निर्देशक र ‘कुलेखानी जलविद्युत आयोजना’ मा प्रमुख भएर देशको लागि आफ्नो दक्षता पोखेका जुजुले नेपाल विद्युत प्राधिकरण अन्तर्गत विभिन्न क्षेत्रका क्षेत्रीय प्रमुख भएर पनि काम गरेका छन् l ग्रामिण विद्युतीकरण आयोजना र साना जलविद्युत आयोजनामा उनले आयोजना प्रमुख भएर आफ्नो जिम्मेवारी कुशलतासाथ पूरा गरेका छन् l नेपाल भाषा र नेपाली भाषाका गीतमा निरन्तर र समानान्तर यात्रा गरिरहेका लोकप्रिय गायक जुजु नेवारी समुदायमा एक गौरवको रुपमा समेत परिचित छन् l