गजल गायनमा कन्हैया, ‘अचानक’ भिडिओ सार्वजनिक

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय गायक कन्हैया सिंहले राजधानीमा एक कार्यक्रमको आयोजना गरी आफ्नो स्वरमा रहेको गजल ‘अचानक’ को भिडिओ सार्वजनिक गरेका छन् l डा. कृष्णहरि बरालको शब्दरचना, सन्तोष श्रेष्ठको सङ्गीत, राजु कार्कीको सङ्गीत संयोजन र श्यामश्वेत रसाईलीको मिक्सिङ्/माष्टरिङ् रहेको सो  गजलको भिडिओ राजधानीको मैतीदेवीस्थित डोरी रेष्टुरेन्टमा आयोजित समारोहमा सञ्चारकर्मीहरु माझ प्रदर्शन गरी डिजिटल बजारमा ल्याईएको हो l समारोहमा बहुआयामिक वरिष्ठ सङ्गीतकर्मी शम्भूजित बास्कोटाको प्रमुख आतिथ्यता रहेको थियो l

‘अचानक’ को भिडिओ लोकप्रिय निर्देशक गम्भीर विष्टको निर्देशनमा छायाङ्कन भएको हो l जसमा सुबोल थापाको कोरियोग्राफी, वुद्ध थापाको सिनेम्याटोग्राफी र नवीन निरौलाको सम्पादन रहेको छ l गजित विष्ट र अन्जली अधिकारीको अभिनय रहेको यो भिडिओ गायक सिंहकै अफिसियल युट्युब च्यानल Kanhaiya Singh Pariyar मा हेर्न सकिन्छ l

SUBSCRIBE 👉

गजलको बोल ‘अचानक’ भएपनि बर्षौ पछिको योजना र मेहेनतको प्रतिफल स्वरूप यो गीत तथा भिडिओ तयार भएको कुरा गायक सिंहले समारोहलाई जानकारी गराएका थिए l ‘सबै प्रकारका गीत गाएँ तर विविध कारणबश गजल गाउने ईच्छा अपूरै थियो l सङ्गीत यात्राको ३ दशक पछि त्यो सपना सार्थक भएको छ’ गायक कन्हैयाले भने l समारोहमा प्रमुख अतिथि सङ्गीत रत्न शम्भूजित बासकोटाले सार्वजनिक गरिएको गीत तथा भिडिओको प्रशंसा गरेका थिए l

लामो समय अघिदेखि अमेरिकालाई कर्मथलो बनाए पनि विभिन्न सङ्घ-संस्थाहरुको स्थापना गरी अमेरिकामा छरिएर रहेका कलाकारहरुलाई गोलबन्द गर्दै नेपाली सङ्गीत एवं संस्कृतिको प्रवर्धनमा अहोरात्र लागिरहेका कन्हैया सिंह सङ्गीतकर्मकै लागि पटक पटक स्वदेशको यात्रा गरिरहने नगण्य कलाकारहरु मध्येका एक हुन् l यसपटक पनि छोटो समयका लागि केहीदिन अघि मात्र नेपाल आएका कन्हैया सङ्गीतकर्ममै व्यस्त देखिएका छन् l