सुरेन्द्र महर्जन ‘अमर’ लाई विश्व कीर्तिमानी प्रमाणपत्र हस्तान्तरण     


वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ लाई अग्रज गीतकार विश्व बल्लभ र गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले संयुक्त रूपमा ‘वर्ल्ड वाइड बुक अफ रेकर्ड’ ले प्रदान गरेको विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । बिजुलीबजारस्थित गीतकार सङ्घ नेपालको सभा हलमा आज आयोजित एक समारोहमा साहित्यकार ‘अमर’ लाई सो प्रमाणपत्र हस्तान्तरण गरिएको हो l   

बिगत चार दशकदेखि साहित्यिक र तीन दशकदेखि साङ्गीतिक यात्रालाई निरन्तरता दिँदै आएका साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ले विश्व कीर्तिमान कायम गरेकोमा विश्व बल्लभ र वसन्त बित्यासी थापाले बधाई समेत दिएका थिए । विश्व कीर्तिमानीको प्रमाणपत्र ‘वर्ल्ड वाइड बुक अफ रेकर्ड’ को कार्यालयबाट नेपाल आएको केही महिनापछि सार्वजनिक भएको हो । प्रमाणपत्र वितरण समारोहमा गीतकार सङ्घका उपाध्यक्ष रमेश कोईराला, कोषाध्यक्ष चेतन खतिवडा, विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, सञ्चारकर्मी विवेक कार्की, सञ्चारकर्मी चिरञ्जीवी भण्डारी लगायतले सुरेन्द्र महर्जन ‘अमर’ को बारेमा आ-आफ्ना धारणा राखेका थिए ।  

वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ले पहिलोपटक विश्वको अग्लो हिमाल सगरमाथा बेस क्याम (५३६४ मिटर अग्लो स्थान) मा आफ्नो रचनामा तयार भएको तीसौं कृति अर्थात् गीति एल्बम ‘मायाको सागर’ सार्वजनिक गरेर विश्व कीर्तिमानको रेकर्ड कायम गरेका हुन् । यसअघि यो उचाईमा कुनैपनि एल्बम सार्वजनिक नभएको जानकारी प्राप्त भएको छ l साहित्य क्षेत्रमा कविता, गीत, कथा, उपन्यास, मुक्तक, हाइकु, तान्का आदि लेखेर चर्चा बटुल्न सफल साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ले १८ अप्रिल, २०२२ मा सो स्थानमा आफ्नो गीति एल्बम सार्वजनिक गरेका थिए ।   

एल्बममा चर्चित भारतीय गायक कुमार सानुका साथै देविका वन्दना, प्रविन बेडवाल, सन्तोष श्रेष्ठ, अस्मिता अधिकारी, चिरञ्जीवी भण्डारी आदिको स्वर रहेको छ भने सन्तोष श्रेष्ठ, पुष्कर सुनुवार र चिरञ्जीवी भण्डारीले सङ्गीत दिएका छन् । एल्बम ओएस नेपालको प्रस्तुतिमा सार्वजनिक भएको हो l प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा साहित्यकार महर्जनले ‘वर्ल्ड वाइड बुक अफ रेकर्ड’ को प्रमाणपत्र प्राप्त गरेकोमा खुशी प्रकट गर्दै यो आफ्नो मात्र नभएर सम्पूर्ण नेपालीको पनि सफलता भएको बताएका छन् ।