‘टिका पुन साङ्गीतिक साँझ’ भब्य रुपमा सम्पन्न

-प्रकाश बराईली ‘अभिव्यक्ति’

लोकप्रिय लोक तथा दोहोरी गायिका टिका पुनको ‘टिका पुन साङ्गीतिक साँझ’ भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम २०७९ माघ २१ गते शनिबारका दिन काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भब्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रममा दर्पण सङ्गीतालयका अध्यक्ष उदिराम खड्काको अध्यक्षता रहेको थियो भने उपराष्ट्रपति नन्द बहादुर पुन पासाङको प्रमुख आतिथ्यता रहेको थियो । ‘टिका पुन साङ्गीतिक साँझ’ मा वरिष्ठ गायक नारायण रायमाझी, वरिष्ठ गायक प्रेमराजा महत, नन्द कृष्ण जोशी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी, वरिष्ठ लोक गायिका शर्मीला गुरुङ, वरिष्ठ लोक गायिका शिला आले लगायत अन्य थुप्रै कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा हल भरिभराउ भएर हलभित्र छिर्न नपाएर कतिपय दर्शकहरु त फर्किएका पनि थिए ।

कार्यक्रममा गायिका टिकासँगै नारायाण रायमाझी, खड्ग गर्बुजा, बिबि अनुरागी, मिलन लामा, राजु परियार, रामजी खाँड, किरणबाबु पुन लगायत अन्य कलाकारहरुको पनि प्रस्तुति रहेको थियो । साथै सहयोगी कलाकारहरुको रुपमा स्मृति शाही, करिश्मा घर्ती मगर, शिब सङ्गीत, धनराज चुनारा, खगेन्द्र बिक, सन्तु थापा, करिश्मा बिसी, प्रकाश रसाईली ‘भाबुक’, करुणा गन्धर्व लगायत अन्य रहेका थिए ।

‘टिका पुन साङ्गीतिक साँझ’ दर्पण सङ्गीतालयले आयोजना गरेको हो भने सत्यवती कला केन्द्रले सहकार्य गरेको हो । सुर्खेतमा जन्मिएकी बहुप्रतिभाशाली गायिका टिका पुनको कर्म घर दाङ हो । हाल उनले काठमाडौंलाई कर्मथलो बनाएकी छिन् । उनी बिभिन्न सङ्घ संस्थाहरुमा पनी आबद्ध छिन् । टिका पुन दर्पण सङ्गीतालयको कार्यक्रम सञ्चालिका समेत हुन् । साथै उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको निवर्तमान सह – कोषाध्यक्ष समेत हुन् ।

टिका पुनले सबै प्रकारका गीत गाउन सक्छिन् । केही समय अघि उनले राजु परियारसँग गाएको कति राम्रो दमाईको छोरो नामक लाईभ दोहोरीले अत्याधिक चर्चा कमाउन सफल भएको थियो । उनै लोकप्रिय गायिका टिका पुनले स्वर दिएका गीतहरु लालुपाते फुल छैन रुख मात्रै, सलल बगेको भेरी नदी, क्षितिज पारि उनको बस्तीमा, म पूजा गर्छु मायाको, ए बि सि डि, समाजको बन्धन, छोरी पाए, यो मार्मिक सन्देश, जूनमा पनी दाग छ, तिम्रो दर्शन पाईन, पोखरा फेवाताल घुम्नलाई, म त जुनी जुनी लगायत थुप्रै गीतहरुले चर्चा बटुल्न सफल भएका छन्  । सानै छँदा गायनमा रुची राख्ने टिका पुनले विगत २३ बर्षदेखि  साङ्गीतिक क्षेत्रमा कर्म गर्दै आईरहेकी छिन् ।

टिका पुन भन्छिन्- ‘यस्तो भब्य रुपले सम्पन्न होला भन्ने त मैले सोचेको पनि थिईन । सबैले साथ दिएर यो कार्यक्रम सफल भएको हो । धेरैले आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गरिदिनु भयो । साथै केही ब्यक्तिहरु सुरुवातदेखि नै खटिएर साथ दिनुभयो उहाँहरुप्रति आभारी छु । धेरै मिडियाहरुले सुरुवातदेखि साथ दिनुभयो । उहाँहरुप्रति पनि आभारी छु । बुढेसकालमा एकल साँझ गरेर महत्व नहोला । गाउन नसकिएला भनेर अहिले सक्ने अवस्थामा साङ्गीतिक साँझ गरेकी हुँ । सबै गीत गाउन सकिन । यसप्रति सर्जक तथा गायकहरुप्रति क्षमाप्रार्थी छु । साथ दिनुहुने बाध्यबाधकहरुलाई बिशेष धन्यबाद दिन चाहन्छु । यसको अर्को भाग १० बर्षपछि फेरि आयोजना गर्ने सोच बनाएकी छु । मलाई साथ सपोर्ट गर्नेहरु सबैप्रति नमन प्रकट गर्दछु ।’