‘सन्तोष दुमीसँग एक साँझ’ भव्यताका साथ सम्पन्न

-तुलसी गिरी ‘भावुक’

‘दुमी गीत-सङ्गीत कोश’ को सहयोगार्थ ‘दुमी किराँत राई फन्सिकिम’ को आयोजनामा लोकप्रिय सङ्गीतकार/गायक सन्तोष दुमी राईको एकल गायन साँझ सम्पन्न भएको छ l ‘सन्तोष दुमीसँग एक साँझ’ नाम दिईएको सो कार्यक्रम राजधानीको थापागाउँ स्थित ‘मण्डला थिएटर’ मा हिजो साँझ सम्पन्न भएको हो l गायक सन्तोषले आफ्नो जन्मदिनको अवसर पारेर एकल प्रस्तुतिको सो कार्यक्रम आयोजना गरिएको कुरा जानकारी गराएका छन् l जन्मदिन २ दिन अघि भएपनि सबैको सहजतालाई मध्यनजर गरी शनिबार पारेर कार्यक्रमको आयोजना गरिएको कुरा समेत उनले स्पष्ट पारेका छन् l आफ्ना प्रस्तुति सुरु गर्नु अघि सन्तोषले केक काटेर जन्मदिनको खुशी साटेका थिए भने दर्शकले ‘ह्याप्पी वर्थ डे’ को सामूहिक ध्वनिले उनलाई शुभकामना दिएका थिए l

करिव २ दशक अघिदेखि सङ्गीतकार एवं गायकको रुपमा निरन्तर क्रियाशील रहेका सन्तोष दुमी राईका सङ्गीत र स्वरमा हालसम्म २५० भन्दा बढी गीत रेकर्ड भईसकेका छन् l खोटाङ जन्मथलो भएपनि केही वर्ष यता टोखा-८ बानियाँटारका बासिन्दा सन्तोषले यसअघि सन् २०१२ मा हङकङमा एकल साँझ गरेका थिए भने यो उनको दोस्रो एकल गायनको कार्यक्रम हो l समारोहमा आफ्ना स्वर तथा सङ्गीतका कूल गीत मध्येबाट सन्तोषले ‘नाकिमा ‘, सुमन राई, रत्न समशेर थापा, सन्तोष खनाल, दिवाकर खनाल, राम कुमार राई, रमेश मगर, प्रकाशकृष्ण ‘बाक्सिला’, डा. नेत्रमणि हलक्सु, तेजमाया राई लगायतका गीतकारका गीत ‘घामले आँखा खोलिसक्यो’, ‘रातभरि जून रुँदा’, ‘मुस्कुराई बस तिमी’, ‘निलो आकाश ढाकेर’, ‘सुलाम सिंसो’ ( दुमी गीत ), ‘पर्खि बस्नु है मलाई’, ‘बादलुको पर्दाभित्र’, ‘ईंकी तुम्लो रिदुम् हदुम्’ ( दुमी गीत ), मैले के भूल गरें र’, ‘नुगोबिताम नु आते आस्ता’ ( दुमी गीत ), ‘के नै रैछ र जिन्दगी’ र ‘साल्पै राजा’ को प्रस्तुति दिएका थिए l समारोहमा अतिथि गायक-गायिका राखिएको थिएन l   

सन्तोषलाई वाद्यवादनतर्फ बाँसुरीमा बलराम समाल, लिड रिदम गीटारमा सुरज प्रधान, बेस गीटारमा आदेश गुर्मछान, अक्टो प्याडमा भूपेन्द्र रसाइली, तबलामा लक्ष्मी डंगोल र कि-बोर्डमा राहुल भुजेलले साथ दिएका थिए भने हार्मोनियम सन्तोष आफैंले बजाएका थिए  l लगभग २५ वर्ष अघि स्थापित ‘दुमी किराँत राई फन्सिकिम’ ले यस प्रकारको कार्यक्रम पहिलोपटक आयोजना गरेको कुरा थाहा भएको छ भने करिव ४ वर्ष अघि स्थापित ‘दुमी गीत-सङ्गीत कोश’ ले अवसरबाट बन्चित प्रतिभाशाली दुमी प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ l

समारोहमा गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, वरिष्ठ सङ्गीतकर्मीहरु बुलु मुकारुङ, शम्भु राई, राजुबाबु श्रेष्ठ, शान्तिराम राई आदिको समेत उपस्थिति रहेको थियो भने वरिष्ठ गायक कुबेर राई अस्वस्थताको बाबजुद पनि कार्यक्रममा आएका थिए l यसैगरी सिने कलाकार राजकुमार राई तथा किराँत सांस्कृतिक कलाकार सङ्घ, खोटाङ कलाकार समाज र  यायोख्खाका पदाधिकारीहरुको समेत कार्यक्रममा उपस्थिति रहेको थियो l

सन्तोष कार्यरत स्कुल हाम्रो सनसाइनका प्रिन्सिपल दिबेश खत्री र पायोनियर पब्लिक एकेडेमीका प्रिन्सिपल सुस्मिता मैनाली लगायत शिक्षक शिक्षिकाहरुको समेत उपस्थिति रहेको सो समारोह लगभग २ घन्टामा सम्पन्न भएको थियो l यो कार्यक्रम आफ्नो जीवनकै एउटा अविष्मरणीय क्षणको रुपमा रहने बताउँदै लामो समयदेखि आफ्नो एउटा सपना आज पूरा भएको सन्तोषले जानकारी गराए l

SUBSCRIBE 👉