खण्डकाव्य ‘किनारीकृत माइली’को लोकार्पण


विराटचोक, मोरङ  
सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष साहित्यकार छवि वैरागी घिमिरेद्वारा लिखित खण्डकाव्य किनारीकृत माइली एक विशेष समारोहको आयोजना गरि लोकार्पण गरिएको छ । साहित्यकार छवि वैरागीको यो नवौं कृतिको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ गायक तथा चलचित्र अभिनेता एलपी जोशी हुनुहुन्थ्यो ।

कार्यक्रममा विशिष्ट अतिथि साहित्यकार मनु मन्जिल, केशव सुनाम, सुन्दरहरैँचा नगरपालिकाका पूर्व संस्थापक नगरप्रमुख शिवप्रसाद ढकाल, हर्कमान तामाङ, सावित्रा परियार अतिथि तर्फ आधुनिक साहित्य परिषद् काठमाडौका अध्यक्ष मुरलीप्रसाद ढकाल, गौरी पब्लिकेसन्सका प्रबन्धक तथा साहित्यकार दामोदर ढकाल, नयाँ वृन्दावन गौशालाका पिठाधीश दीनबन्धु शास्त्री, समाजसेवी तिलक परियार लगायत अन्य विशेष व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

खण्डकाव्य लोकार्पण कार्यक्रममा पुस्तकको मूल दृष्टिकोणलाई नाट्यकर्मीद्वारा नाटकमा रूपान्तरण गरि नाटक मञ्चन, पुस्तकभित्रका रचनालाई सङ्गीतका माध्यमद्वारा रचनावाचन गायक दुर्गा पराजुली तथा गायिका तारा पराजुली ढकालले प्रस्तुत गर्नु भएको थियो । कला, साहित्य, सङ्गीतलाई समेटेर आयोजना गरिएको सो कार्यक्रममा गायिकाद्वय गङ्गा विष्ट, कविता लिम्बू तथा आयुष विष्टले आधुनिक गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्ज्वलन गरि प्रमुख अतिथिद्वारा भएको थियो भने खण्डकाव्यका लेखक छवि वैरागी घिमिरेले कृतिको रचना गर्भमा आफ्नो मन्तव्य दिँदै किनारीकृत माइली खण्डकाव्य एक यथार्थ माया प्रेमको वियोगान्त घटनाको एक कालखण्डलाई लिएर रचना गरिएको बताउनु भयो । जसमा समाजमा भएको जातीय छुवाछूत, देशको वर्तमान अवस्था, प्रकृति र मानव, पूर्वीय सभ्यता र शास्त्रीय यथार्थ जस्ता महत्त्वपूर्ण विषय खण्डकाव्यमा समेटिएको बताउनु भएको छ । जातीय विभेदका कारण प्रेम असफल भएको र यस्ता घटना समाजमा अझै घटिरहेका छन् l त्यसैले हामीले समाज रुपान्तरण गर्न जातीय विभेदको अन्त्य गर्न आफ्नोतर्फबाट उठ्नु पर्ने घिमिरेले बताउनु भएको थियो ।

लेखक छवि वैरागीले आफ्ना पिताले जातीय विभेद अन्त्य गर्न तत्कालीन पञ्चायतकालमा खेल्नु भएको अहम् भूमिकाबाट प्रभावित भएर आफूले लेखकीय माध्यमबाट पनि जनचेतना फैलाउन सकिन्छ भन्ने मूल उद्देश्य राखी समाजको यथार्थ घटनालाई पुस्तकको रूप दिएर समाजको विद्यमान कुरीतिलाई अन्त्य गर्न सकिन्छ कि भन्ने भावना यस पुस्तकमा प्रकाश पारिएको बताउनु भएको थियो l उहाँले जातीय विभेद अन्त्य गर्न दलितले मात्र आवाज उठाएर समाधान हुन नसक्ने र जबसम्म गैरदलितले जातीय छुवाछूत गर्न हुँदैन, सबै मानव एक हुन् भन्ने बुझ्न सक्दैनन् तबसम्म समस्या यथावत् रहने भन्दै जनचेतनाका लागि यो पुस्तक लेखेको बताउनु भएको थियो ।

कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरूले मन्तव्यका क्रममा पुस्तकले दिन खोजेको जनचेतना अति नै सकारात्मक भएको बताएका थिए । यसैक्रममा प्रमुख अतिथि एलपी जोशीले हामी मानव हौँ र मानव भनेको चेतनाका हिसाबले उच्च प्राणी हो त्यसैले समान व्यवहार गर्न सके र सिक्न सके समानता हामीभित्रै छ हुनेछ । यस्ता चेतनामूलक पुस्तकका माध्यमबाट होस् या हामीले कलाका माध्यमबाट सकेसम्म जनचेतना फैलाउन सके जातीय विभेदको अन्त्य हुन्छ भन्ने भनाइ व्यक्त गर्नु भयो ।

कार्यक्रममा इलाम, झापा, मोरङ र सुनसरी देखिका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम सुन्दरहरैँचा कला साहित्य विकास समितिले आयोजना गरेको थियो भने कार्यक्रमलाई संस्थाका सचिव केपी घिमिरेले प्रस्तुत गर्नुभएको थियो ।