गीतकार सङ्घ नेपालमा वसन्त बित्यासीको नेत्तृत्व

-तुलसी गिरी ‘भावुक’

हिजो सम्पन्न गीतकार सङ्घ नेपालको तेह्रौं साधारण सभा एवं छैटौं अधिवेशनले वसन्त बित्यासी थापालाई आगामी कार्यकालको लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ l ११ जनाको कार्यसमिति मध्ये उपाध्यक्ष र महासचिव दुई पदको लागि मात्र निर्वाचन भएको थियो भने अन्य सबै पदाधिकारीहरु सर्वसम्मत चयन भए l मत परिणाम अनुसार रमेश कोईराला प्रतिद्वन्द्वी उम्मेदवार विपिन किरणलाई ३७ मतले पछि पार्दै उपाध्यक्ष पदका लागि निर्वाचित भए l यसैगरी टिका राई ‘शिव’ ३२ मतको अग्रता सहित महेश आचार्यलाई पछि पार्दै महासचिव पदमा विजयी भएका थिए l उपाध्यक्ष पदका लागि कूल ६९ मत खसेकोमा महासचिवका लागि भने ६४ मत मात्र खसेको थियो l अचम्मको संयोग के भयो भने, पराजित दुबै उम्मेदवारले १६-१६ मत पाएका थिए l

नयाँ कार्यसमितिको सचिवमा शित्तल कादम्बिनी, कोशाध्यक्षमा चेतव खतिवडा साथै सदस्यहरुमा कमल पौडेल, राधा पाण्डे गिरी, जीवन मुकारुङ, भगवती रोक्का ‘भूमिका’, तिव्वतबहादुर दर्लामी र सुरेन्द्र थपलिया निर्विरोध छानिएका छन् l

२०४३ सालदेखि नै गीत लेख्न थालेपनि विजयसिंह मुनालको सङ्गीत र सविता खरेलको स्वरमा २०४८ सालमा गीतकार वसन्त बित्यासीको गीत ‘आँखाको परेलीमा’ पहिलोपटक रेकर्ड भएको थियो l २०५९ सालमा कम्पनीको स्थापना गरी सङ्गीतको व्यावसाय सुरु गरेका र सो व्यासायिक कर्मलाई हालसम्म पनि निरन्तरता दिईरहेका गीतकार वसन्त बित्यासी थापाले गीतकार सङ्घ नेपालको कार्यसमितिमा पहिलोपटक निर्वाचित सदस्यका रुपमा सेवा दिएका थिए भने त्यसपछि निर्वाचित रुपमै सचिव, महासचिव र उपाध्यक्ष पदमा रही लागातार ४ कार्यकालसम्म कुशलता एवं इमान्दारिताकासाथ आफ्नो जिम्मेवारी पूरा गरेका थिए l प्रा. डा. कृष्णहरि बरालको नेत्तृत्वमा स्थापित गीतकार सङ्घ नेपालमा यसअघि योगेन्द्रमणि दाहाल, चूडामणि देवकोटा र शुभ मुकारुङको नेत्तृत्व रहेको थियो l