प्रकाशको गजल ‘एउटै छानो एउटै मानो’ मा टेक बलम्पाकीको स्वर


गीतकार प्रकाश सुवेदीको शब्द सृजनामा तयार पारिएको ‘एउटै छानो एउटै मानो गरौँ हुँदैन र ?’ बोलको गजलको लिरिकल भिडिओ यही पुस २८ गते सृजना र सेरोफेरो Youtube Channel मार्फत सार्वजनिक भएको छ । टेक बहादुर बलम्पाकीको स्वरमा रहेको यस गजललाई चर्चित सङ्गीतकार लक्ष्मण शेषले सङ्गीतवद्ध र दिनेश सुनामले सङ्गीत संयोजन गरेका हुन् । आफ्नी प्रेमिकालाई अनुरोधात्मक शैलीमा ‘अब घरजम गरेर सँगै बसौँ’ भन्ने भाव सहित आह्वान गरिएको यस गजलका शब्द अत्यन्तै सरल छन् ।

SUBSCRIBE 👉

गीत र गजलहरुका शब्द / शैलीमा सरल र भावपक्ष गहन हुनुपर्छ भन्ने मान्यता राख्दै सृजना गर्ने प्रकाशको सरलपन आफ्नो स्वभाव पनि हो । गजलमा प्रेमले दिलाउने सांसारिक सुखलाई जोड दिँदै नरनारी ढुङ्गा र माटो जस्तै एक अर्काका अभिन्न सहयात्री र संरक्षक हुन् भन्ने खालको भाव समेटिएको छ । सरसरती सुन्दा निकै सरल र जो सुकैले बुझ्न सक्ने यस गजलको भावपक्ष भने निकै गहन छ । नारायण राज आचार्यले ध्वनि सम्पादन गरेको यस गजलको लिरिकल भिडिओ वर्ल्डकभर मिडियाका भिडिओ सम्पादक लोकेश भाटले तयार पारेका हुन् ।

एउटै छानो एउटै मानो गरौँ हुँदैन र ?
सँगै बसी माना पाथी भरौँ हुँदैन र ?

मायाले नै जोडाउँछ सुख जति संसारका,
बस्तीभरि यस्तै सन्देश छरौँ हुँदैन र ?

माटाको भर ढुङ्गा भन्छन् ढुङ्गाको भर माटो,
हामी पनि त्यस्तै भर परौँ हुँदैन र ?

केलाई अब डराउनु केलाई लजाउनु,
मायाको यो महासागर तरौँ हुँदैन र ?

तिमीलाई आउन टाढा मलाई धाउन टाढा,
अलिअलि गर्दै नजिक सरौँ हुँदैन र ?