सीतामैया ‘कमला कार्की स्मृति प्रतिष्ठान’ द्वारा नगद सहित पुरस्कृत

-तुलसी गिरी ‘भावुक’

उभिएर सितार बजाउने विश्व कीर्तिमानी महिला सीतामैया राजचललाई ‘कमला कार्की स्मृति प्रतिष्ठान’ ले नगद रू. १५ हजार १ सहित पुरस्कृत गरेको छ l आज चन्द्रागिरि नपा अन्तर्गतको नैकापमा आयोजित एक समारोहमा सितारवादिका सीतामैया पुरस्कृत भएकी हुन् l उनलाई कार्यक्रमकी प्रमुख अतिथि ‘माईती नेपाल’ की अध्यक्ष अनुराधा कोईराला लगायतका अतिथिहरुले सो पुरस्कार हस्तान्तरण गरेका थिए l गायन तथा वादनको क्षेत्रमा नौलो आयाम थपी केही भिन्न काम गर्ने सोच सहित सङ्गीत साधनामा अविरल लागी आफूलाई यस क्षेत्रमा स्थापित गर्दै उभिएर सितार बजाउने पहिलो महिलाको नाम विश्व रेकर्डमा दर्ता गराई नेपाल र नेपालीको मान प्रतिष्ठालाई विश्व सामु चिनाउन गरेको योगदानको उच्च मूल्याङ्कन गरी उनलाई पुरस्कृत गरिएको कुरा प्रतिष्ठानले जनाएको छ

यो पुरस्कार पाएपछि थप उर्जा मिलेको र आगामी दिनमा सितारवादनका क्षेत्रमा अझ नौला र राम्रा काम गर्ने जिम्मेवारी थपिएको आफूले महसुस गरेको कुरा सीतामैयाले बताईन् l उनले आफूलाई पुरस्कृत गर्ने संस्थाप्रति आभार समेत प्रकट गरेकी छिन् l आफ्नो सितारवादन कलालाई सरकारी तवरबाटै पर्यटन प्रवर्धनका लागि प्रयोग गरिने हो भने पर्यटकहरुमा नेपाल भ्रमणका लागि थप आकर्षण बढ्नुका साथै विश्वमा नेपालको गौरव अझ बढ्ने विश्वास सीतामैयाले व्यक्त गरेकी छिन् l कार्यक्रम प्रतिष्ठानकी संरक्षक अम्बिका कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो l