‘खै कसले दिल मेरो ह्याक गर्यो’ भन्दै आइन् प्रज्ञा 

-तुलसी गिरी ‘भावुक’

उदियमान गायिका प्रज्ञा अधिकारीले आफ्नै सङ्गीत गुरु नरहरि प्रेमीको शब्द/सङ्गीतमा गाएको रोमान्टिक भावको गीत ‘ह्याक गर्यो’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ गायिका प्रज्ञाको जन्मदिनको अवसरमा गत पुष ११ गते लोकार्पण गरिएको हो l अनामनगरस्थित किम्ची रेष्टुरेन्टमा आयोजित सन्ध्याकालीन समारोहमा केही सञ्चारकर्मी, शुभचिन्तक, साथीभाइ र आफन्तहरुबीच प्रज्ञाले सो म्युजिक भिडियो डिजिटल बजारमा ल्याएकी हुन् l युवा पुस्ताको भावना बोकेको यस गीतमा समयसापेक्ष र सान्दर्भिक भाव रहेको छ l गीतमा नरहरि प्रेमीले र्याप गाएर प्रज्ञालाई स्वरमा साथ दिएका छन् भने सञ्जय हमालको सङ्गीत संयोजन र गोविन्द सोनीको मिक्सिङ/माष्टरिङ रहेको छ l समारोहमा प्रज्ञाका व्यावसायी पिता राजकुमार अधिकारी, समाजसेवी एवं भजन गायिका माता तारा अधिकारी र गितारवादक भाइ प्रग्येश अधिकारीको पनि उपस्थिति रहेको थियो l भिडिओ Narahari Premee युट्युब च्यानलबाट बजारमा आएको छ l

‘ह्याक गर्यो’ गीतको भिडिओमा प्रज्ञा आफैंले मुख्य मोडलको रुपमा नृत्य/अभिनय गरेकी छिन् भने र्यापरको भूमिकामा नरहरि स्वयम् देखिएका छन् l राजकुमारको निर्देशन/सम्पादन, राजकुमार दर्जी (एभरेष्ट राज) को कोरियोग्राफी एवं उत्सव दाहालको सिनेम्याटोग्राफी रहेको यो भिडिओ निकै आकर्षक र मनोरञ्जक बनेको छ l समारोहमा उपस्थित सबैले भिडिओको खुलेर प्रशंसा गरेका थिए l 

करिव ९ महिना अघि प्रज्ञाको पहिलो गीत ‘तिमीलाई नै सम्झिरहन्छु’ को भिडिओ सार्वजनिक भएको थियो l पुष्पा पौडेलको शब्द, नरहरि प्रेमीको सङ्गीत तथा नरहरि र प्रज्ञाको युगल स्वर र अभिनय रहेको सो गीत तथा भिडिओले वैदेशिक रोजगारीका कारण अधुरै रहेको प्रेमकथालाई मार्मिक ढङ्गमा प्रस्तुत गरेको थियो l सो गीतबाट पाएका प्रतिक्रिया र हौसलाबाट उत्साहित भएकी प्रज्ञा गायनलाई निरन्तरता दिने योजनाका साथ अघि बढिरहेकी छिन् l

प्रज्ञाको दोस्रो युगल गीत ‘तिमीलाई हेरेर म बाँचेकी छु’ को भिडिओ केही समय अघि नै तयार भईसकेको भएपनि जन्मदिनमा रमाइलो र डान्सिङ शैलीको गीत रिलिज गर्ने योजना बनेकोले छोटो समयमा ‘ह्याक गर्यो’ तयार पारिएको कुरा लोकार्पण समारोहमा जानकारी गराईएको थियो l नरहरि प्रेमी र प्रज्ञाको युगल स्वरमा रहेको ‘तिमीलाई हेरेर म बाँचेकी छु’ को भिडिओ केही समयपछि Narahari Premee युट्युब च्यानलबाटै रिलिज गरिने कुरा गीतका सङ्गीतकार समेत रहेका ‘प्रेमी’ ले जानकारी गराएका छन् l ‘गायनमा राम्रो सम्भावना देखेर नै उर्जा दिने काम गरिरहेको छु’ प्रज्ञासँग ३ वटा गीतमा सहकार्य गरिसकेका सर्जक एवं प्रज्ञाका गुरु नरहरि भन्छन् l

‘सानैदेखि तीक्ष्ण बुद्धि भएकी, अध्ययनशील, नयाँ नयाँ कुरा सिक्न उत्सुक र गम्भीर स्वभावकी प्रज्ञा नृत्यमा समेत विशेष रुची राख्छिन् l सिकाएको कुरा छिटो बुझ्ने र टिप्ने उनमा क्षमता छ’ प्रज्ञाका बारेमा ‘प्रेमी’ले थप स्पष्ट पारे l आध्यात्मिक स्वभावकी आमा तारा अधिकारी श्रुति सङ्गीत विद्यालयमा भजन सिक्न आउने क्रममा उहाँले छोरी प्रज्ञालाई शास्त्रीय गायन र छोरा प्रज्ञेशलाई गितारवादन प्रशिक्षणका लागि ल्याउनुभएको कुरा समेत ‘प्रेमी’ ले जानकारी गराए l फरक फरक भाव र शैलीका गीत गायनमा मात्र नभई अभिनयमा समेत आफूलाई उत्तिकै सवल रुपमा प्रस्तुत गरिसकेकी गायिका, मोडल प्रज्ञा अधिकारीबाट भविष्यमा अझ सुन्दर प्रस्तुतिहरुको अपेक्षा गर्न सकिन्छ l