देविका र कुमार सानुको स्वरमा प्रेमिल गीत ‘तिम्रो मायाको सागरमा’

-तुलसी गिरी ‘भावुक’

बहुआयामिक सर्जक सुरेन्द्र महर्जन ‘अमर’ को शब्दरचना, विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत तथा लोकप्रिय गायिका देविका बन्दना र सुप्रसिद्ध भारतीय गायक कुमार सानुको युगल स्वरमा रहेको गीत ‘मायाको सागर’ को भिडिओ सार्वजनिक भएको छ । समारोहमा गीत तथा भिडिओसँग सम्बन्धित सर्जक/कलाकार लगायत कार्यक्रममा उपस्थित अतिथिहरुले सार्वजनिक भएको गीतको भिडिओ दर्शक/स्रोताहरूले मन पराउने विश्वास व्यक्त गरेका छन् ।

दरबारमार्गस्थित राइजिङ मलमा प्रिमियर गरिएको ‘तिम्रो मायाको सागरमा’ गायिका देविका वन्दनाले बलिउडका सुप्रसिद्ध गायक कुमार सानुसँग गाएको दोस्रो युगल गीत भएको कुरा जानकारी गराईएको थियो l समारोहमा गीतका सर्जक सुरेन्द्र महर्जन ‘अमर’ र सङ्गीतकार सन्तोष श्रेष्ठले भिडिओ आफूहरुले सोचेभन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

SUBSCRIBE 👉

निकेश खड्काको निर्देशनमा तयार भएको यस म्युजिक भिडिओमा आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले अभिनय गरेका छन् । प्राप्त जानकारी अनुसार कुमार सानुको स्वर मुम्बईको कैलाशा स्टुडियोका साउण्ड इन्जिनियर तथा रेकर्डिष्ट निरोज सिंहले रेकर्ड गरेका हुन् भने देविका वन्दनाको स्वर काठमाडौंको अकष्टिक स्टुडियोमा रेकर्ड गरिएको हो ।

म्युजिक भिडिओ सार्वजनिक समारोहमा अग्रज कलाकार वसुन्धरा भुसाल, वरिष्ठ सङ्गीत साधिका  सङ्गीता राना प्रधान, अभिनेत्री शर्मिला मल्ल, निर्देशक मिलन चाम्स, गायक सचिन रौनियार, निर्देशक रोशन कुमार लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

समारोहमा गायिका देविका वन्दनाले गीतकार सुरेन्द्र महर्जन ‘अमर’का मायालु एवं प्रेमिल शब्दहरूलाई सन्तोष श्रेष्ठको जादूमय सङ्गीतले कर्णप्रिय बनाएको बताइन् । ‘हामीले निकै मेहेनत गरेर यो गीत तयार पारेका छौं l गीत रोमान्टिक शैलीको बनेकाले भिडिओमा पनि रोमान्टिक जोडीलाई नै अभिनय गराउनु पर्छ भन्ने लागेर प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडीलाई अभिनय गराइएको हो’ गायिका वन्दनाले भनिन् ।

भिडिओ हेरेपछि प्रतिक्रिया दिँदै अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक गीत सुन्नेबित्तिकै यसमा काम गरौं गरौं भएको बताइन् । अभिनेता आयुष्मान देशराज जोशीले पनि गीतको मेलोडीले आफूलाई तानेको बताए । भिडिओमा काम गरिरहँदाको क्षण शब्दमा व्यक्त गर्नै नसकिने रोमाञ्चक रहेको अभिनेत्री प्रियंकाको भनाइ छ ।

गीत सार्वजनिक समारोहमा उपस्थित अधिकांश कलाकार तथा सञ्चारकर्मीहरूले गीतको खुलेर प्रशंसा गरेका छन् । गायिका देविका वन्दनाको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो भिडिओ बुद्ध थापाले छायाङ्कन गरेका हुन् भने विकास धमलाले  सम्पादन गरेका छन् ।