सर्जक जुगल डंगोल ‘लू निभा: सम्मान २०७९’ बाट सम्मानित


विगत तीन दशक भन्दा लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा क्रियाशील रहँदै आएका वरिष्ठ सङ्गीतकार/सङ्गीत संयोजक जुगल डंगोल सम्मानित भएका छन् । लामो समयदेखिको निरन्तरता र यस क्षेत्रमा उनले गरेको योगदानको कदर स्वरुप ‘लू निभा: बाल सरोकार समूह’ले डंगोललाई काठमाडौंमा आयोजित एक समारोहबीच ‘लू निभा: सम्मान २०७९’ बाट सम्मानित गरेको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र  मानव अधिकारबादी गौरी प्रधानलगायतले सर्जक डंगोललाई सो सम्मान अर्पण गरेका थिए ।

फिल्मी, आधुनिक, पप, भजन, नेवारी भाषा लगायत सबैजसो विधाका गीतमा सङ्गीत सिर्जना एवं सङ्गीत संयोजन गरिसकेका डंगोलले हालसम्म एकसय भन्दा बढी बाल गीतमा सङ्गीत गरिसकेका छन् । नेपालमै सबैभन्दा बढी बालगीतमा सङ्गीत दिने सङ्गीतकारका रुपमा समेत परिचित डंगोलले विश्वकै सबैभन्दा कान्छी बाल गायिका अतिथि गौतम केसीको गीतिसङ्ग्रह ‘अतिथि’ सहित अन्य बाल कलाकारका गीति एल्बमहरु भोलि फुल्ने फूल, माई फस्ट स्टेप, मिल्ने साथी, हाम्रो आवाज, सुनचरी, उत्साह, गुराँस र साकुरा, टप अफ द वर्ल्ड जस्ता थुप्रै बाल गीतिसङ्ग्रहमा सङ्गीत दिएका छन् ।

विगत अढाई दशकदेखि बालबालिकाको हकहित तथा अधिकारका लागि काम गर्दै आएको संस्था ‘लू निभा: बाल सरोकार’ले आफ्नो रजत जयन्ती विभिन्न कार्यक्रम गरेर काठमाडौंमा मनाएको छ । सोही कार्यक्रममा सङ्गीतकार/सङ्गीत संयोजक जुगल डंगोललाई सम्मानित गरिएको हो । समारोहमा डंगोलको शब्द/सङ्गीत तथा अलोन्सा डंगोलको स्वर रहेको गीत ‘लुनिभा’को पनि विमोचन गरिएको थियो ।

समारोहमा आफ्ना भनाईहरु राख्दै संस्थाका संस्थापक अध्यक्ष नरेन्द्र डंगोलले बाल सङ्गीतको विकाश र प्रवर्धनमा जुगल डंगोलको अतुलनीय योगदान रहेको भन्दै सो कार्यको खुलेर प्रशंसा गरेका थिए l जुगल डंगोलले सङ्गीत क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै  यसपटक उनलाई सम्मानित गरिएको कुरा पनि संस्थापक अध्यक्ष नरेन्द्र डंगोलले समारोहलाई जानकारी गराएका थिए l